बारा — स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन ११ र १२ गते बारामा रातारात दल अदलबदल गर्ने क्रम व्यापक भयो । उम्मेदवारी दर्ता गर्न टिकटका लागि तँछामछाड र हानाथाप नै चल्यो ।
गाउँपालिकाको अध्यक्षदेखि वडा तहसम्म यस्तो क्रम रोकिएन । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समयसीमा आइतबार र सोमबार (दुई दिन) दुवै दिन १० बजेदेखि ५ बजेसम्म दिएको थियो ।
आइतबार पहिलो दिन प्रमुख दलहरुले उम्मेदवारको टुंगो नलगाउँदा साना दलहरुले यहाँका २ उपमहानगर, ५ नगरपालिका र ९ गाउँपालिका गरी १६ वटै स्थानीय तहमा विभिन्न साना दलका विभिन्न पदमा थोरै उम्मेदवारी दर्ता गराए ।
पहिलो दिन निर्वाचन कार्यालयका कर्मचारीहरु भने फुर्सदिला देखिए । किन कि, धेरैले उम्मेदवारी दर्ता नै गराउन गएनन् । कतिपयमा उम्मेदवारी दर्ता नै भएन, कतिमा उम्मेदवारी दर्ता भए पनि एकाध पदमा मात्र भयो ।
तर सोमबार ठूला दल एमाले र सत्ता गठबन्धनले उम्मेदवार तय गरेपछि निर्वाचन कार्यालयहरुमा सोमबार उम्मेदवारी दर्ताका लागि एकाएक भीड बढ्यो, जसकारण सोमबार रातभर उम्मेदवारी दर्ता भयो । यही क्रममा टिकट खोस्नेदेखि भरेको उम्मेदवारी फारम च्यात्नेसम्मका हर्कत भए । र यस्ता गतिविधि प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेमा नै भएको पाइएको हो ।
यस्तो भएपछि दुवै पार्टीभित्र कलैया उपमहानगर र सिम्रौनगढ नगरपालिकामा कार्यकर्ता र उम्मेदवारका आकांक्षीबीच असन्तुष्टि बढेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का पार्टी क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रदेशले चौरसिया र जिल्ला सभापति राजेश राय यादवलाई प्रदेशका पार्टी उपसभापति चन्द्रशेखर यादव र सहमहामन्त्री जयनारायण यादवले उपलब्ध गराएको २७ वटा वडाका ‘ब्ल्यांक’ टिकट जनकपुरबाट सोमबार कलैयातर्फ फर्किने क्रममा बर्दिवासको गुञ्जन होटलमा टिकट खोसियो ।
‘होटेल अगाडि गाडीको हुडमा टिकटको झोला राखी म र जिल्ला सभापति यादव टिकट वितरण गर्न छलफल गरिरहेको क्रममा ७/८ उम्मेदवारका आकांक्षी र तिनका सहयोगीले कलैया उपमहानगरका २७ वटा वडाका टिकट लुटेर भागे,’ चौरसियाले भने, ‘यस क्रममा ती समूहले जिल्ला सभापति राजेश, प्रदेशका उपसभापति चन्द्रशेखर र सहमहामन्त्री जयनारायणलाई गाली गलौज गरी दुर्व्यवहार पनि गरे । सभापति राजेश टुलुटुलु हेरेर बसे ।’
प्रहरी आउँदासम्म घटना समान्य भयो र प्रतिवाद गर्दा कलैया पुगेर छलफल गर्ने भनेर सभापतिबाट जवाफ पाएपछि फर्केर आएको चौरसियाले बताए । तर कलैया आउँदा नाम नभरेको टिकटमा सभापतिका खासखास व्यक्तिले आफैं मिलेर नाम भरेर उम्मेदवारी दर्ता गराइसकेको थाहा पाएर जिल्ला प्रशासनमा बसेर गर्ने भनिएको छलफल त्यतिकै गुपचुप भएको उनको भनाइ छ ।
यसैगरी सिम्रौनगढ नगरपालिकाको उपप्रमुखको पदको लागि टिकट नपाएको झोंकमा नगर कमिटीका उपाध्यक्ष रामेश्वर यादवले वडा ८, ९ र ११ मा पार्टीको तर्फबाट उम्मेदवारी दर्ताका लागि भरिएको फारम च्यातेर फालिदिएको घटना सार्वजनिक भएको छ ।
जसले ती वडाहरुमा सदस्यका लागि ४ जनाको उम्मेदवारी दिनुपर्नेमा सबैमा उम्मदवारी नै परेन । ‘फारम च्यात्ने कामले वडाको पूरै पदमा उम्मेदवारी दिन सकेनौं,’ एमाले सिम्रौनगढ नगर अध्यक्ष महेन्द्र जयसवालले भने, ‘उपप्रमुखको टिकट दिने अधिकार नगरको नभएर माथिल्ले कमिटीको भएकोले मलाई टिकटबारे थाहा भएन ।’
उता टिकट च्यातेको आरोप लागेका पार्टीका नगर उपाध्यक्ष रामेश्वरले आफूले उपप्रमुखमा टिकट नपाएकोमा फारम च्यातेको स्वीकारेका छन् । ‘उपप्रमुख पदमा टिकट दिने शर्तमा पार्टी प्रवेश गरेको थिएँ, नपाएपछि विरोध स्वरुप पार्टीका अरुले भरेको फारम च्यातिदिएँ ।’
