धनकुटाका तीन वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी

वैशाख १३, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाका विभिन्न पालिकाका तीन वटा निर्वाचन केन्द्रमा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ । 

पाख्रीबास नगरपालिका ९, चौबिसे गाउँपालिका ८ र साँगुरीगढी गाउँपालिका ७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

पाख्रीबास वडा नं.९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रुपमा डम्बरकुमारी दर्जीको मात्र उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, चौबिसे गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेबाट मात्र दलित वडा सदस्यको रुपमा ताराकुमारी विश्वकर्माको मनोनयन दर्ता छ । साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा कांग्रेसबाट कुमारी विश्वकर्माको मात्र एकल उम्मेदवारी परेको छ ।

ती वडाहरुमा अन्य दलबाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए । अन्य दलबाट मनोनयन दर्ता नभए पनि उम्मेदवार विरुद्ध उजुरी गर्ने समयावधिसम्म निर्विरोध घोषणा गर्न नमिल्ने मुख्य निर्वाचत अधिकृत फणिन्द्रप्रसाद पराजुलीको भनाइ छ ।

वैशाख १६ गतेसम्म उम्मेदवार विरुद्ध उजुरी गर्ने समयावधि रहेको उनले बताए ।

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully