सिन्धुली — सत्ता गठबन्धनबाट सिन्धुलीको कमलामाइ नगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गरेका दीर्घराज श्रेष्ठको उम्मेदवारी बदर भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारमा नाम कायम भएकोले सफ्टवेयरमा इन्ट्री नहुँदा उम्मेदवारी बदर भएको हो ।
अन्य ९ जना उम्मेदवारको समेत प्रक्रिया नपुगेकाले बदर भएको निर्वाचन आयोगले जनाएको छ । गठबन्धन दलहरूबीच भागभन्डामा कमलामाइ नगरपालिकाका उपमेयर माओवादी केन्द्रबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए ।
दुई महिनाअघि माओवादी केन्द्र प्रवेश गरेका श्रेष्ठ जनता समाजवादीबाट समानुपातिक बन्दसूचीमा परेका थिए । श्रेष्ठले भने महिनाअघि नै बन्दसूचीबाट नाम हटाउन जनता समाजवादीले निर्वाचन आयोगलाई पत्र लेखिसकेकाले उम्मेदवार कायम हुने जिकिर गरे ।
