बाँकेमा युवा उम्मेदवारका कस्ता छन् योजना ?

वैशाख १३, २०७९

रूपा गहतराज

नेपालगन्ज — मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा २९ वर्षीय हिमान्शु यादवले नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिए । पेशाले उद्यमी उनी अहिले घरदैलोमा व्यस्त छन् ।

जानकी गाउँपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष रामनिवास यादवको गत १२ भदौमा निधन भएपछि एमालेले उनका छोरा हिमांशु यादवलाई अध्यक्ष उठाउने निर्णय गरेको हो । यादवको निधनपछि उनका उत्तराधिकारीको रुपमा युवा व्यवसायी हिमांशुलाई उम्मेदवार बनाउन स्थानीयले प्रस्ताव गरेका थिए ।

यस्तै जसपाबाट जानकी गाउँपालिकाकै अध्यक्षमा ३२ वर्षीय राजीव कुमार बर्माले उम्मेदवारी दिएका छन् । उनी पनि युवा उद्यमी हुन् । आफूले जितेको खण्डमा किसानहरूले छोरीको विवाहका लागि खेत बेच्नुपर्ने बाध्यता हटाउने उनको प्रतिबद्धता छ ।

‘९० प्रतिशत समुदाय कृषिमा निर्भर छन् तर एउटा किसान जहिले पनि ऋणको भारीले च्यापिएको हुन्छ ।  कृषि, स्वास्थ्य, शिक्षा नि: शुल्क नभएसम्म जनताको हितका लागि काम गर्न सकिँदैन,’ बीबीएसम्म अध्ययन गरेका राजिवले विपन्न किसानका लागि काम गर्ने बताएका छन् ।

यस्तै खजुरा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका सुमन मल्ल पनि ३८ वर्षीय उद्यमी नै हुन् । पूर्व वडाअध्यक्ष समेत रहेका उनलाई नेकपा एमालेले गाउँपालिकाको अध्यक्षमा उठाएको हो । आफ्नो कार्यकालमा तलब भत्तासमेत नलिएका उनले विपन्नहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यस्तै नेपालगन्ज उपमहानगरको वडा नं २० को वडा अध्यक्षका लागि जसपाबाट उम्मेदार बनेका कौषल कुमार धोबी आफ्नो पार्टीबाट एक्लो अल्पसंख्यक उम्मेदवार हुन् । शिक्षण पेशाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदै हाल सक्रिय राजनीतिमा छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका उन‍ले उपमहानगरभित्र शिक्षाको अवस्था सुधार्ने योजना अघि सारेका छन् । अल्पसंख्यक समुदायलाई सम्बोधन गर्न पनि आफू उम्मेदवार बनेको उनको तर्क छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा बाँकेका आठमध्ये चार पालिका जितेर एमाले पहिलो शक्ति बनेको थियो । कोहलपुर नगरपालिका, जानकी, खजुरा र बैजनाथ गाउँपालिका एमालेले जितेको थियो । राप्तीसोनारी र डुडुवा गाउँपालिका कांग्रेसले जितेको थियो भने नरैनापुर जसपा र नेपालगन्ज उपमहानगरपालिका राप्रपाले जितेका थिए । माओवादी केन्द्रले भने एउटा पनि पालिकाको पनि प्रमुख पदमा जित्न सकेको थिएन ।

स्थानीय तह निर्वाचन २०७९

रूपा

Link copied successfully