'म काठमाडौंमा रातभर एक्लै हिँडेर देखाउँछु'
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौंलाई सुरक्षित सहर बनाउने घोषणा गरेकी छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी उनले काठमाडौंमा महिलाले अहिले पनि साँझ-बिहान काम गरेर खान पाउने अवस्था नरहेको बताइन् ।
‘काठमाडौं देशको राजधानी हो । तर, यो अझै पनि सुरक्षित छैन । साँझ पर्नेबित्तिकै हामी महिलाहरूले हिँड्डुल गर्न सकिँदैन, डराउँदै हिँड्नुपर्ने अवस्था छ । म मेयर भएपछि सबै ठाउँमा सीसीटीभी जोड्छु, त्यहाँ प्रहरी हुन्छन्,’ उनले भनिन्, ‘म आफैँ काठमाडौंमा रातभर लगाएर एक्लै हिँडेर देखाउँछु, काठमाडौं सुरक्षित छ, महिला दिदीबहिनीहरू घरबाट बाहिर आउनुस् भनेर देखाउँछु ।’
उनले महिलाले कमजोर आर्थिक अवस्था र परनिर्भरताका कारण घरबाहिर निस्किन सक्ने अवस्था नरहेको भन्दै आफू मेयर भएपछि गृहिणी महिलाको भत्ता दिने व्यवस्था गर्ने बताइन् ।
उनले महानगरपालिकालाई आफूले भ्रष्टाचारमुक्त महानगर बनाउन काम गर्ने बताइन् । ‘मैले काठमाडौंका टोल–टोल घुमेको छु, यहाँको रहनसहन, भाषा, संस्कृतिसँग राम्ररी घुलमिल छु,’ उनले भनिन्, ‘महानगर चलाउन सजिलो छैन । सुशासन कायम गर्नुपर्ने अवस्था छ । म काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउन काम गर्छु । भोलि कोही मान्छे काठमाडौं ओर्लिंदै गर्दा ओहो काठमाडौं त सफा भएछ भन्ने अवस्था बनाउँछु ।’
