कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बागी उम्मेदवारले मकवानपुर कांग्रेसमा सकस

सुवास विडारी

मकवानपुर — बागी उम्मेदवारका कारण नेपाली कांग्रेस मकवानपुरलाई समस्या परेको छ । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् ।

बागी उम्मेदवारले मकवानपुर कांग्रेसमा सकस

सत्तारुढ गठबन्धनले तोकेकोभन्दा अन्य उम्मेदवारलाई कांग्रेसले बागीको रूपमा चित्रण गरेको छ ।

मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (बीपी) पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेतृ जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए । फलस्वरुप यस वडामा नेपाली कांग्रेसको उम्मेदवार नै छैन ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

हेटौंडा उपमहानगरपालिका–२ मा सुदीप राजवाहक र हेटौंडा–९अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । राजवाहक अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । सिग्देल तरुण दल नगरका पूर्वसचिव हुन् ।

कांग्रेसले हेटौंडाको ३ वटा वडामा दुई/दुईजनालाई टिकट वितरण गर्दा पनि समस्या सिर्जना भएको छ । पार्टीको आधिकारिक पत्र भएर पनि उम्मेदवारी दर्ता गराउन नपाएपछि दुईजनाले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । उनीहरुको हकमा भने कांग्रेसले बागी भनेर चित्रण गर्न सकेको छैन ।

प्रकाशित : वैशाख १३, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?