एमालेका उम्मेदवार विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

वैशाख १३, २०७९

कान्तिपुर संवाददाता

ओखलढुंगा — लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका मिलन विष्टविरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ ।

उनले ओखलढुंगा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाममा र ओखलढुंगाबाटै होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

त्यस्तै उनी विरद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको उजुरीमा दाबी गरिएको छ । लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेशकुमार थापाले उजुरी परेको पुष्टि गरे ।

उनले उजुरी सम्बन्धमा थप अनुसन्धान भइरहेको र भोलि मंगलबारसम्म उजुरी लिने म्याद रहेकोले यसको निर्णय आउन दुई दिन समय लाग्ने बताए ।

कांग्रेसबाट अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका अशोक कार्कीले उजुरी दिएका हुन् । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा विष्टले आफू व्यस्त रहेको भन्दै यसबारे पछि कुरा गर्ने प्रतिक्रिया दिए ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully