पाँचथरमा दलित महिला सदस्यमा पाँच जनाको एकल उम्मेदवारी

वैशाख १३, २०७९

लक्ष्मी गौतम

पाँचथर — दलित महिला सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका पाँचथरको फिदिम नगरपालिकाका २ र फालेलुङ गाउँपालिकाका ३ वटा वडामा ५ जना सदस्यको एकल उम्मेदवारी परेको छ ।

ती पदमा सम्बन्धित वडाबाट अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरु एकल उम्मेदवार बनेका हुन् । यसरी एकल उम्मेदवारको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

फालेलुङ गाँउपालिका ४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका कविता विश्वकर्मा, फालेलुङ ५ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी फूलमति विश्वकर्मा र फालेलुङ ८ को सोही पदमा उम्मेदवारी दिएकी अमृता संङखरको प्रतिस्पर्धी कसैले मनोनयन दर्ता नगराएको निर्वाचन  कार्यालयले जनाएको छ ।

यस्तै फिदिम नगरपालिकाको ३ र १३ नम्बर वडाको दलित महिला सदस्य पदकै लागि उम्मेदवारी दर्ता भएका थप २ जना पनि एकल उम्मेदवार बनेका छन् । 

फिदिम नगरपालिका ३ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकी वुधमाया नेपाली र वडा नम्बर १३ को सोही पदमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकै सुनिता गिरी (बर्देवा) को पनि एकल उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहका अनुसार एकल उम्मेदवारी परेका पाँचै जनाको कागजात जाँच गरेर निर्विरोध भए नभएको सूचना प्रकाशन गरिने छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मिति वैशाख १६ गतेका लागि तोकेको छ ।

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully