काठमाडौँ — सबैभन्दा बढी मतदाता भएको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबार राति ९ बजेसम्मको विवरणमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेको संख्या ५६ रहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा (एमाले)बाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका हुन् ।
चितवन भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीकी रेणु दाहाल, एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदीसहित ३० जनाले मेयरमा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, पोखरा महानगरपालिकाको मेयरमा २४ जनाले उम्मेदवारी दिएका छन् । ललितपुर महानगरपालिकाको मेयरमा १३, वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकामध्ये सबैभन्दा कम मेयरको उम्मेदवारी विराटनगरमा परेको छ । यहाँ ११ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । सोमबार ५ बजे सम्पन्न भएको मनोनयन दर्ताको कागजात मिलाउने र तथ्यांक केलाउने काम चलिरहेको आयोगले जनाएको छ ।
९ बजेसम्मको उक्त तथ्यांक रहेको र त्यसमा अझै उम्मेदवार संख्या थपिन सक्ने आयोगको अनुमान छ ।
