सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा बजारमा माओवादी केन्द्रका नेताहरूबीच झडप भएको छ । उम्मेदवारको टिकट पाउने र नपाउनेहरूबीचको झडपका कारण २ घण्टाभन्दा बढी उम्मेदवारी दर्ता प्रक्रिया नै रोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारी वेदनीधि खनालका अनुसार सोमबार अपराह्न उम्मेदवारी दर्ताको क्रममा केही समूह चौसागढी नगरको निर्वाचन कार्यालयभित्र पसेर एक्कासी तोडफोड गरेका थिए ।
त्यसयता चौतारा साँगाचोकगढी नगरमा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षको समूहबीच झडप मच्चिएको थियो । दुवै पक्षबीच हानाहान हुन थालेपछि अवस्थालाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।
‘प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ, झडप मच्चाउन सुरु गर्ने समूह फरार छन् , प्रहरीले उनीहरुलाई खोजिरहेको छ, आहिले भने झडप शान्त भइसकेको छ, बल्ल मनोनयन सुरु गरिएको छ, ’ प्रजिअ खनालले भने ।
प्रत्यक्षदर्शीका अनुरुप झडपको क्रममा असन्तुष्ट पक्षले नगरपालिकाको भवनको सीसा ढुंगाले हानेर फुटालेका थिए । चौतारा साँगाचोकगढी नगरका हालका मेयर अमानसिं तामाङलाई माओवादी केन्द्रले टिकट नदिएपछि एमालेमा प्रवेश गर्ने तयारीमा थिए ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका तामाङ माओवादी छोडेर एमाले नजाने भएपछि तालमेलको दाउपेच बदलिएको हो । यद्यपि सोमबार तामाङले स्वतन्त्र हैसियतमा चौसागढी नगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरको मेयरमा कृष्ण सापकोटा र उपाध्यक्षमा अस्मिता विकलाई उम्मेदवार बनाएको छ ।
