तनहुँमा सत्ता गठबन्धनका दलहरूको छुट्टाछुट्टै उम्मेदवारी

वैशाख १२, २०७९

सम्झना रसाइली

तनहुँ — स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनका दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि तनहुँमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दलबीच भएको गठबन्धन अनुसार स्थानीय निर्वाचनमा तालमेल गर्ने भने पनि जिल्लामा सहमति जुट्न नसक्दा जिल्लाका १० वटै पालिकामा आ–आफ्नै हिसावले उम्मेदवारी दर्ता गरेका हुन् ।

चुनावी तालमेलका लागि जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल तथा सिट भागबण्डाका लागि पटक पटक बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि सोमबार ३ बजेपछि गठबन्धनका दलहरुले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका हुन्। 

‘उम्मेदवारी दर्ता सोमबारसम्म गर्नुपर्ने भएकाले गठबन्धनका दलहरु सबैले आ–आफ्नो हिसाबले उम्मेदवारी दर्ता गर्नुभएको छ । पुनः बैठक बसी गठबन्धनको तालमेलका लागि प्रयास जारी रहनेछ’ कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

उम्मेदवारी मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमति नजुटेपछि आ–आफ्नै ढंगले उम्मेदवारी दर्ता गराउने र सहमतिका लागि आवश्यक छलफल गरी अझै प्रयास गर्ने गठबन्धन दलहरुबीच नयाँ सहमति भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सह–सचिव एवं व्यासका नगरप्रमुखका उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेले बताए ।

नेकपा एमाले तनहुँले भने १० वटै पालिकामा सोमबार उम्मेदवारी दर्ता गराएको छ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरी एमाले तनहुँले दलबलका साथ उम्मेदवारी दर्ता गराएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully