मुसहर समुदायबाट उपमेयरको पहिलो उम्मेदवार

वैशाख १२, २०७९

भरत जर्घामगर

सिरहा — सिरहा नगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीबाट दलित मुसहर समुदायकी शशिमित्रा माझी उम्मेदवार बनेकी छन् । उपमेयरको पदमा उम्मेदवारी दिने उनी जिल्लाकै पहिलो मुसहर समुदायको उम्मेदवार हुन् ।

उनीसँगै निर्वतमान मेयर अशेश्वर प्रसाद यादवले जसपाबाट मेयरको उम्मेदवारी दर्ता गराएका छन् । मुसहर समुदायबाट उम्मेदवार बनेकी २९ वर्षीया शशिमित्रा यसअघि महिला अधिकार क्षेत्रमा सक्रिय थिइन् ।

स्टाफ नर्स उत्तीर्ण उनले सिरहा यूथ नेपाल नामक संस्था दर्ता गरेर दलित, महिला अधिकार क्षेत्रमा जनचेतनामुलक अभियान सञ्चालन गरेकी थिइन् । सिरहा नगरपालिका क्षेत्रमा वर्षौंदेखिको विभेद्‍ विरुद्ध आवाज उठाउनुका साथै कानुनको पहुँच बाहिर रहेका भूमिहीन दलित सुकुम्बासीलाई कानुनी उपचारका लागि पैरवी गरेको अनुभव उनीसँग छ ।

उनका बुबा रामकेवल माझी वामपन्थी विचारधाराका थिए । रामकेवल एमाले हुँदै नयाँशक्ति पार्टीको केन्द्रीय सदस्यसमेत बनेका थिए । उम्मेदवारी दिएपछि उनले पीडामा रहेका आवाजविहीन दलित समुदायको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनका पति दिलिप माझी मुसहर सिरहा अस्पतालमा चिकित्सक छन् । सन् २००७ मा किर्गिस्तानबाट एमबीबीएस उत्तीर्ण दिलिप चिकित्सक पेशा छाडी सिरहा नगरपालिकामा नयाँशक्ति पार्टीबाट मेयरको प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचन कार्यालयका अनुसार बिहीबार साँझसम्म मेयरमा १३ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

भरत

Link copied successfully