कांग्रेसका तीन जना वडाअध्यक्षका उम्मेदवारका प्रतिस्पर्धी नै भएनन्
लमजुङ — मनाङको नासों गाउँपालिकामा नेकपा एमालेका मनबहादुर गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा अर्विन गुरुङले मनोनयन दर्ता गराएका छन् ।
आइतबार कांग्रेसका धनबहादुर गुरुङले अध्यक्ष र माओवादी केन्द्रका बेदबहादुर गुरुङले उपाध्यक्षमा मनोनयन दर्ता गराएका थिए । एमालेबाट वडा नं. १ मा मीनराशी गुरुङ, २ मा रवि गुरुङ, ३ मा वीरबहादुर गुरुङ र ९ मा मिङमर छिरिङ विष्टले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
राप्रपाबाट वडा नं. ४ मा कुविरसिंह गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट वडा नं. ९ मा साङ्गे वाङचुक लामाले मनोनयन दर्ता गराएका छन् । वडा नं. ८ मा स्वतन्त्रका लिलाबहादुर गुरुङले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
वडा नं. ५ मा कांग्रेसबाट थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ वडाअध्यक्षको रुपमा एक्लो उम्मेदवार भएका छन् । निर्वाचन अधिकृत तारादत्त बढुका अनुसार नासों गाउँपालिका ५, ६ र ७ को वडाअध्यक्षमा अरु कुनै दल वा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छैनन् ।
