काठमाडौँ — घोराही उपमहानगरपालिकामा एमालेका तर्फबाट मेयरमा पुन: नरुलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा विजयी भएका थिए । उनी हाल एमाले पोलिटब्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज छन् ।
चौधरीले २०७४ मा २२ हजार ३० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । डाँगीले अहिले सत्ता गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका छन् भने गौतमले पार्टी परित्याग गरेका छन् ।
घोराहीको उपमेयरमा एमालेबाट हुमाकुमारी डिसीले उम्मेदवारी दर्ता गरेकी छन् । उनी हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । डिसी बिधवा महिला सरोकार केन्द्रको अध्यक्ष भएर लामो सयम सामाजिक आन्दोलनमा क्रियाशील थिइन् । उनले सहकारी अभियन्ता र महिला मानवअधिकार रक्षकका रुपमा पनि नेतृत्वदायी भूमिकामा रहेर काम गरेकी छन् ।
