बहुरंगी तालमेल

वैशाख १२, २०७९

मणि दाहाल

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्ताका क्रममा राजनीतिक दलहरुका बहुरंगी तालमेलहरु देखा परेका छन् । केन्द्रबाट नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्व स्थानीय चुनावका लागि आ-आफ्ना गठबन्धन निर्माण भएका छन् । तर केन्द्रीय गठबन्धन र केही जिल्लाका पालिकाहरुमा अन्य खालका ध्रुविकरण पनि देखा परेका छन् । जसले दलहरुको गठबन्धनले बहुरंगी स्वरुप देखा परेको छ ।

एउटा ध्रुवमा संसदको दोस्रो ठूलो दल कांग्रेसको साथमा तेस्रो दल नेकपा माओवादी केन्द्र,चौथो दल नेकपा एकीकृत समाजवादी पार्टी र पाँचौ दल जनता सामाजवादी र राष्ट्रिय जनमोर्चा छन् । 

अर्कोतर्फ एमालेको साथमा कमल थापा नेतृत्वको राप्रपा नेपाल, परिवार दलसहितका साना दलको छ । 

सत्तारुढ गठबन्धनले वडातहैसम्म गठबन्धन गर्ने तल्लो कमिटीहरुलाई निर्देशन दिएपनि त्यो निर्णयको आंशिक रुपमा मात्रै कार्यान्वयन भएको छ । केन्द्रले पाँच दलभन्दा अन्य दलहरुसँग चुनाव तालमेल नगर्ने निर्देशन पनि दिएको छ । तर तल्लो तहका कमिटीहरुले स्थानीय तहको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै गठबन्धन गरेका छन् । 

सत्तारुढ गठबन्धनलाई एक्लै चुनाव लड्ने चुनौति दिँदै आएको एमालेले राप्रपा नेपाल र परिवार दलसहित केही साना साथ लिएर मोर्चाबन्दी गरेको छ । राप्रपा नेपाल र परिवार दलका उम्मेदवार सूर्य लिएर प्रतिस्पर्धा गर्ने गरी समझदारी गरेको छ । त्यसैगरी एक्लै चुनाव लड्ने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत केही स्थानमा गठबन्धन गरेका छन् । 

गठबन्धनभित्रका दलहरुले केन्द्रको समिकरणलाई प्रभावित नगर्ने तालमेल नगरुन भनेर कडिकडाउ गर्न खोजेका छन् । तर विभिन्न जिल्लाहरुमा  अनेक खालका तालमेल देखिए। जसमा चुनाव जित्नै पर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । 

झापामा कांग्रेस र एमालेले कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध तालमेल गरेका छन् भने दमक नगरपालिकामा सत्तारुढ गठबन्धन र राप्रपाबीच एमालेविरुद्ध तालमेल भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । गत स्थानीय तह चुनावमा एमालेले मेयर  र उप मेयरसहित बहुमत जितेको थियो । कचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष र उपाध्यक्ष जितेको  थियो । 

एमाले र राप्रपाबीच भरतपुर महानगरपालिकामा तालमेल भएको छ । सत्तारुढ गठबन्धनतर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयर प्रतिस्पर्धामा छिन् । सो महानगरपालिकामा गठबन्धन कांग्रेसभित्र देखिएको असन्तोषबाट मात्रै ढुक्क हुन नसकेको एमालेले राप्रपालाई उपाध्यक्ष र २ वटा वडाध्यक्ष दिँदै तालमेल गरेको हो । 

त्यसैगरी एमाले र लोसपाबीच सत्तारुढ गठबन्धनविरुद्ध वीरगञ्ज महानगरपालिका तालमेल भएको छ । जनता सामाजवादी पार्टी (जसपा) बाट मेयर विजय सरागवी एमाले प्रवेश गरेपनि गत स्थानीय निर्वाचनमा तेस्रो स्थानमा आएको दलसँग एमालेले गठबन्धन गर्न खोजेको हो । 

त्यसैगरी सप्तरीको राजविराज नगरपालिकामा राप्रपा र लोसपाबीच तालमेल भएको छ । 

बुटवल उपमहानगरपालिकामा एमालेले जनमुक्ति पार्टीसँग सहकार्य गरेको छ । यसअघिको स्थानीय तह चुनावमा एमालेले बहुमत वडासहितको सो उप महानगरपालिका जितेको थियो । एमालेले केही वडा सदस्यहरु जनमु्क्ति पार्टीलाई दिएर तालमेल गरेको हो । 

प्युठानको झिमरुक कांग्रेस र माओवादीबीच सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाविरुद्ध स्थानीय गठबन्धन भएको हो । गएको स्थानीय तह चुनावमा झिमरुक गाउँपालिकामा राजमोले जितेको थियो । सो गाँउपालिकामा मा‌ओवादीले अध्यक्ष र उपाध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । 

रोल्पामा मा‌ओवादी केन्द्रविरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । सुनछहरी र माडी गाँउपालिकामा कांग्रेस र एमालेले नेत्रविक्रम चन्द निकटसँग गठबन्धन गरेको छ । 

जसमा चन्द नेतृत्वको नेकपामा स्वतन्त्र उम्मेदवार बनेका अध्यक्षलाई कांग्रेस र एमालेले सघाउने छन् । २०७४ सालमा पनि माओवादीविरुद्ध गठबन्धन बनेको थियो ।  

त्यसैगरी पूर्वी रुकुमको सिस्नेमा मा‌ओवादीविरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । 

एमालेले तनहुँमा नेपाली कांग्रेसले कारबाही गरेका नेता गोविन्दराज जोशीको समूहसँग तालमेल गरेको छ । व्यास नगरपालिकको मेयर स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराजका छोरासहित चार वडाध्यक्ष जोशी समूहले प्राप्त गरेको छ । २०७४ सालमा भएको स्थानीय तह चुनावमा व्यास नगरपालिकामा एमाले र मा‌ओवादी केन्द्रबीच तालमेल भएको थियो । त्यस समयमा कांग्रेसले चुनाव जितेको थियो । 

कहाँ- कस्तो तालमेल 

एमाले/राप्रपा -भरतपुर

काग्रेस/माओवादी/ एस/ राप्रपा- दमक

एमाले/जनमुक्ति-  बुटवल

एमाले /लोसपा- वीरगंज

एमाले / माओवादी- प्यूठानको झिमरुक

का‌ंग्रेस/ एमाले- कचनकवल झापा

कांग्रेस/एमाले/ चन्द समर्थक उम्मेदवार- सुनछहरी  माडी

कांग्रेस/एमाले- सिस्ने गाँउपालिका रुकुम पूर्व

एमाले / गोविन्दराज जोशी गठबन्धन- तनहुँ  व्यास

स्थानीय तह निर्वाचन २०७९

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully