विराटनगर — विराटनगर महानगरको मेयरका लागि आइतबार र सोमबार गरी तीन स्वतन्त्र सहित नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा एक स्वतन्त्र सहित ६ ले उम्मेदवारी दिएका छन् ।
मेयरमा उम्मेदवारी दिनेमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपावाट प्रल्हाद साह, बीपी कांग्रेसवाट रामचन्द्र गौतम,संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट प्राडा नागेश्वरप्रसाद सिंह, नेपाल परिवार दलबाट महेश निरौला सहित स्वतन्त्रवाट उमेश यादव, सक्रिय गौतम र अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गरेका छन ।
त्यसैगरी उपमेयरकालागि गठबन्धनवाट जनता समाजवादी पार्टीका अम्नेन्द्रकुमार यादव, नेकपा एमालेवाट शिल्पा निराला कार्की, राप्रपाबाट विन्दा लुइटेल आचार्य, बीपी कांग्रेसवाट माया ओझा, नेपाल परिवार दलबाट दिपा पोखरेल र स्वतन्त्रवाट वसुन्धरा ओझाले उम्मेदवारी दिएकी छिन् ।
महानगरको मेयर उपमेयरमा दलका तर्फबाट उम्मेदवारी दिने राप्रपा बाहेक सबै नयाँ अनुहार हुन । राप्रपाका साहको यो पाँचौ उम्मेदवारी हो । यसअघि उनी शाही शासनकालमा मनोनित र राजा ज्ञोनन्द्रले गराएको निर्वाचनमा मेयरमा विजयी भएका थिए । त्यसैगरी स्वतन्त्रवाट उम्मेदवारी दिने उमेश यसअघीको निर्वाचनमा जसपावाट मेयरका उम्मेदवार थिए ।
गठबन्धनवाट कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीवाट महानगरको मेयर र उपमेयरमा मात्र चुनावी तालमेल गरेका छन । गठबन्धनका चारवटै दलले महानगरका १९ वटै वडा अध्यक्ष र सदस्यमा आ–आफना दलका उम्मेदवारी दिएका छन ।
दलहरु उम्मेदवारको नाम दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढिलो आएका कारण उम्मेदवार दर्ता प्रक्रिया राती अवेर जारी रहेको र जिल्लाका अन्य १६ स्थानीय तलमा पनि यस्तै अवस्था रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश भरत लम्सालले वताए । उनका अनुसार जिल्लाभरी कति उम्मेदवारले मनोनयन गरे मंगलबार मात्र भन्न सक्ने स्थिति छ ।
