महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर पदमा टिकट पाएकाे दाबी गरेका कांग्रेस नेता प्रल्हाद क्षेत्रीले अन्तत: स्वतन्त्र उम्मेदवारी दिएका छन् । लामो रस्साकस्सीपछि पाएको टिकट लिएर क्षेत्री निर्वाचन कार्यालय पुग्दा कांग्रेसकै अर्का नेता चिरञ्जीवी हमाल पनि टिकट लिएर पुगेका थिए ।
एकै पार्टीबाट दुई व्यक्ति टिकट लिएर नाम दर्ता गर्न पुगेपछि निर्वाचन कार्यालयले आधिकारिता पुष्टि गरी हमालको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । क्षेत्रीको टिकट खोसिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । हमालको उम्मेदवारी दर्तापछि क्षेत्रीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएको सापकोटाले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले हमालको टिकट निर्वाचन कार्यालयमा पठाएपछि निर्वाचन कार्यालयले उनको नाम दर्ता गरेको छ । नेपाली कांग्रेस प्रदेश समितिले पनि हमाल आधिकारिक उम्मेद्वार भएको परिपत्र गरेपछि क्षेत्रीको टिकट खोसिएको हो । कांग्रेसले अन्तिम समयमा आएर धोका दिएको भन्दै कांग्रेसको एउटा पार्टी पंक्ति असन्तुष्ट बनेको छ ।
