काठमाडौँ — २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा धरौटी रकम १ सय रुपैँया तोकिएको थियो । जुन रकम तीस बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा बढेर १५ सय रुपैँया पुगेको छ ।
२०४९ को स्थानीय निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुखका पदका लागि ५ सय र सदस्य पदका लागि २ सय धरौटी राख्ने व्यवस्था थियो । यस्तो रकम भने अहिले हुन लागेको निर्वाचनमा बढेर उपाध्यक्ष वा उपप्रमुखका लागि १५ सय र वडा सदस्यका लागि बढेर ५ सय पुगेको छ । सदर मतको १० प्रतिशत मत प्राप्त नगरेमा धरौटी जफत हुने व्यवस्था छ ।
गाउँ विकास समिति/नगरपालिका निर्वाचन, २०४९ मा ३ हजार ९ सय ९५ गाउँ विकास समिति र ३६ वटा नगरपालिकाको निर्वाचन भएको थियो । त्यतिबेला १ करोड २० लाख मतदाता थिए ।
त्यतिबेला निर्वाचन प्रचार प्रसारका लागि गाविस अध्यक्ष र उपाध्यक्षको लागि अधिकतम दस हजार र सदस्यका लागि २ हजार एवं नगरपालिका प्रमुख र उपप्रमुखका लागि २५ हजार तथा सदस्यहरुलाई दस हजार निर्वाचन खर्च तोकिएको थियो ।
गाउँ विकास समितिको निर्वाचन २०५४ मा ५८ नगरपालिका र ३,९१३ गाउँ विकास समितिको निर्वाचन भएको थियो । जम्मा मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २ सय ७३ थियो । मतदान केन्द्र पहिलो चरणमा २२३४ थिए उपकेन्द्र ५८ थिए ।
दोस्रो चरणमा २८५३ मतदान केन्द्र र २ सय ६० उपकेन्द्र थिए । पहिलो चरणमा करिब ११ हजार कर्मचारी र दोस्रो चरणमा १२ हजार ५ सय कर्मचारी खटिएका थिए । गाविस अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले २१ हजार र वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुले २ हजार सम्म आ आफ्नो चुनाव प्रचारप्रसारलागि खर्चको हद तोकिएको थियो ।
नगरपालिका निर्वाचन २०५४ मा जेठ ४ र १३ मा दुई चरणमा नगरपालिकाको निर्वाचन भयो । जसमा महानगरपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारहरुले १ लाख ५० हजार, वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुले २९ हजार र उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुले ७० हार रुपैया र वडाध्यक्ष र वडासदस्यका उम्मेदवारहरुले १५ हजार रुपैया, नगरपालिका प्रमुख उपप्रमुखका उम्मेदवारहरुले ४५ हजार, वडाध्यक्ष र वडा सदस्यले १२ हजार रुपैया चुनाव प्रचारका लागि खर्चिन पाउने हद तोकिएको थियो ।
ज्ञानेन्द्र शाहले सम्पूर्ण शासनसत्ता आफेले खोसेर प्रत्यक्ष शासन संचालन गरेर २०६२ मा नगरपालिकाको निर्वाचन गराएका थिए । प्रमुख राजनीतिक दलहरुले बहिष्कार गरेको उक्त निर्वाचनमा २२ नगरपालिकाका सबै पदहरुमा निर्विरोध निर्वाचन भएको थियो भने २८ जिल्लाका ३६ नगरपालिकामा २०६२ माघ २६ मा मतदान भएको थियो । त्यतिबेला वडा सदस्यको निर्वाचनका लागि २ सय, प्रमुख, उपप्रमुखको निर्वाचनका लागि ५ सय धरौटी राख्नुपर्ने व्यवस्था थियो । निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दस प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले राखेको धरौटी जफत गर्ने व्यवस्था थियो । यो निर्वाचनमा जम्मा २० प्रतिशत मात्रै मतदान भएको थियो ।
