चामेका दुईवटा वडामा अध्यक्षसहित ६ जनाको एकल उम्मेदवारी

वडा १ र २ मा एमाले र कांग्रेसका अध्यक्षका उम्मेदवारविरुद्ध उम्मेदवारी परेन । महिला र दलित सदस्यका पनि प्रतिस्पर्धी भएनन् ।

वैशाख १२, २०७९

आश गुरुङ

लमजुङ — मनाङ सदरमुकाम रहेको चामे गाउँपालिकाका दुईवटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसका वडाअध्यक्षको एकल उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वडा नं. १ मा एमालेका खड्कजंग गुरुङ वडाअध्यक्षमा एक्लो उम्मेदवार बनेका छन् । उक्त वडामा एमालेबाटै महिला सदस्य राजकाशी गुरुङ र दलित महिला सदस्य अनिता विकका लागि प्रतिस्पर्धी उम्मेदवार देखिएका छैनन् ।

यस्तै वडा नं. २ मा कांग्रेसका मंगलदेव गुरुङ एक्लो अध्यक्षको उम्मेदवार बनेका छन् । उक्त वडामा कांग्रेसबाट महिला सदस्य गममाया गुरुङ र दलित महिला सदस्य नविना परियारविरुद्ध पनि प्रतिस्पर्धीको उम्मेदवारी परेको छैन ।

गाउँपालिका अध्यक्षमा भने सोमबार कांग्रेसका छिरिङ धोर्जे लामा र उपाध्यक्षमा मिङ्मार डोमा लामाले मनोनयन दर्ता गराएका छन् । एमालेका लोकेन्द्रबहादुर घलेले अध्यक्षमा आइतबार नै मनोनयन दर्ता गराएका थिए। उपाध्यक्षमा आशकुमारी गुरुङले मनोनयन दर्ता गराएकी छन् ।

वडा नं. ३ मा एमालेका प्रेमकुमार श्रेष्ठ र कांग्रेसका विनोद लामा, वडा नं. ४ मा एमालेका पाल्साङ लामा र कांग्रेसका लोप्साङ लामा साथै वडा नं. ५ मा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्वा चिरिङ लामाले मनोनयन दर्ता गराएका छन् । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully