लालबन्दीमा एमालेबाट निवर्तमान मेयरको उम्मेदवारी खारेज

वैशाख १२, २०७९

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिकाका मेयरका लागि मनोनयन दर्ता गराएका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी खारेज भएको छ । एमालेबाट मेयरमा दुई जनाले टिकट ल्याएपछि उम्मेदवारी दर्ता गर्न समस्या परेको थियो ।

खड्कालाई प्रदेश कमिटी तथा अर्का नेता गोविन्द महतलाई केन्द्रीय कमिटीले मेयरमा बेग्लाबेग्लै टिकट दिएको थियो । प्रदेश कमिटीबाट टिकट पाएका खड्काले सोमबार बिहान सुटुक्क प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराएका थिए ।

पछि पार्टीमा विवाद उत्पन्न भएपछि एमालेका जिल्ला तहका नेताहरु बसेर महतलाई नै आधिकारिक मानेर निर्वाचनको कार्यालयमा पुगेका थिए । 

तर निर्वाचन कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न मानेन । त्यसपछि जिल्लाका नेताहरुले प्रदेश तथा केन्द्र दुवै स्थानबाट आफ्नो पार्टीका आधिकारिक उम्मेदवार महत नै रहेको पत्र पठाएपछि खड्काको उम्मेदवारी खारेज गरी महतको उम्मेदवारी दर्ता भएको छ । 

स्थानीय तह निर्वाचन २०७९

ओमप्रकाश

Link copied successfully