धरानको मेयरमा एमालेबाट भण्डारी र कांग्रेसका राईको उम्मेदवारी

इटहरीको मेयरमा कांग्रेसबाट पौडेल र एमालेबाट सुब्बा

वैशाख १२, २०७९

प्रदीप मेन्याङ्बो

धरान — नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले उम्मेदवारी दर्ता गरेकी छिन् । उपमेयरमा पदम इस्वोले उम्मेदवारी दर्ता गरेका छन् । एमाले केन्द्रीय सचिवालयले बहालवाला उपमेयर भण्डारी र पदम इस्वोलाई टिकट दिएपछि सोमबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका थिए ।

उपमहानगर कमिटीले अन्य आकांक्षीको नामसहित भण्डारीलाई प्रमुखमा सिफारिस गरे पनि प्रदेश कमिटिले प्रमुख र उपप्रमुख दुवैमा सिफारिस गर्दै केन्द्रीय कमिटिमा पठाएको थियो । भण्डारी एमाले केन्द्रीय सदस्य तथा धरान उपमहानगरकी उपप्रमुख थिइन् भने इस्वो जिल्ला सदस्य तथा कानुन व्यवसायी हुन् ।

यसैगरी नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट अन्तिम समयमा किशोर राईलाई प्रमुखको टिकट दिएपछि उम्मेदवारी दर्ता गरेका छन् । राई कांग्रेस धरानका पूर्वसभापति, अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष, प्रदेश एकका एन्फा उपाध्यक्ष हुन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अइन्द्रविक्रम वेघाले उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनबाट धरानमा अलग्गिएको जनता समाजवादी पार्टीका तर्फबाट नगर अध्यक्ष ताजुव लिम्बू र उपप्रमुखमा विना राईले उम्मेदवारी दर्ता गरेका छन् । 

स्वतन्त्रबाट एमालेका वडा ९ का वडाध्यक्ष रत्न कटवालले प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । एमालेले प्रमुखमा मन्जु भण्डारीलाई टिकट दिएपछि चित्त नबुझेर विद्रोहस्वरुप स्वतन्त्र उम्मेदवारी दिएको बताए । हर्क साम्पाङले पनि स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।

इटहरी उपमहानगरमा गठबन्धनबाट कांग्रेसबाट नगर सभापति हेमकर्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेल पार्टीमा कोइराला पक्षका भनेर चिनिन्छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका सुनसरी इन्चार्ज तथा पार्टी खेलकुद विभाग प्रमुख केशवकुमार विष्टले उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेका तर्फबाट इटहरीमा यामकुमार सुब्बाले प्रमुखको पदमा उम्मेदवारी दर्ता गरेका छन् । उपप्रमुखमा संगिता चौधरीले उम्मेदवारी दर्ता गरेकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

प्रदीप

Link copied successfully