भरतपुरको मेयरमा गठबन्धनबाट माओवादीकी दाहालको उम्मेदवारी

कांग्रेसका अधिकारीले दिए उपमेयरमा उम्मेदवारी

वैशाख १२, २०७९

रमेशकुमार पौडेल

भरतपुर — भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर र कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।  दाहाल भरतपुरकी निवर्तमान मेयरसमेत हुन् भने अधिकारी कांग्रेस नगर सभापति हुन् ।

उम्मेदवारी दर्ता गर्न गठबन्धनका दलहरू संयुक्त जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए । भरतपुरमा सत्ता गठबन्धन र एमाले-राप्रपाबीच तालमेल भएको छ ।

यसअघि एमालेका विजय सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यस्तै राप्रपाले हिमला गुरुङलाई उपमेयरमा उठाएको छ । एमालेसँग उपमेयर र २ वटा वडा लिई राप्रपाले तालमेल गरेको हो ।

त्यस्तै कांग्रेसका जगन्नाथ पौडेलले पनि भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । भरतपुरमा मेयर माओवादीलाई दिएको भन्दै कांग्रेसभित्र व्यापक असन्तुष्टि देखिएको छ । 

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully