बैतडी — बैतडीका १० वटै पालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । पालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
तामझामका साथ दर्ता स्थलमा पुगेका एमालेका उम्मेदवार, नेता तथा कार्यक्रताहरुले सोमबार दिउँसो १० वटै पालिकामा एकैसाथ उम्मेदवारी दर्ता गराएका एमालेका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
नेकपा एमालेबाट बैतडी सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी र उपमेयरमा सरस्वती नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा जोशी र उपमेयरमा नेपालीले जिल्ला समन्वय समितिको कार्यालय गढीमा स्थापना भएको मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अखण्ड सुदूरपश्चिम आन्दोलनको नेतृत्व गरेका जोशी पहिलो स्थानीय तहको निर्वाचनमा यहि नगरपालिकामा राप्रपाबाट मेयरमा उठेका थिए । उनले कांग्रेसका उम्मेदवारसँग झिनो मतले मात्र हारेका थिए । राप्रपा बलियो नभएको जिल्लामा पनि उनले कमै मतले हारेका थिए । पछिल्लो समय उनी एमालेमा प्रवेश गरेर राजनीति गरिरहेका थिए ।
यस्तै उपमेयरकी उम्मेदवार नेपाली पनि पहिलो स्थानीय तहको चुनावमा एमालेबाटै उपमेयरमा उठेकी थिइन् । उनी कांग्रेसकी उम्मेदवारसँग पराजीत भएकी थिइन् ।
यस्तै जिल्लाको पाटन नगरपालिकामा पनि एमालेले उम्मेदवारी दर्ता गराएको छ । मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्टले उम्मेदवारी दर्ता गराएका हुन् । मेलौली नगरपालिकामा एमालेले मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउदले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै पुरचौंडी नगरपालिकामा पनि एमालेले उम्मेदवारी दर्ता गराएको छ । पुरचौंडीमा मेयरमा कर्ण बहादुर कुवँर र उपमेरमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका हुन् ।
सिगास गाउपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन् । शिवनाथ गाउपालिकामा अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् । सूर्नया गाउँपालिकामा एमालेबाट अध्यक्षमा अम्मरबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन् । यो पालिकामा एमालेले राप्रपासंग तालमेल गरेको छ । डिलाशैनी गाउपालिकामा अध्यक्ष पदमा अक्कल राना र उपाध्यक्ष पदमा लिला जोशीले उम्मेदवारी दिएका छन् । दोगडाकेदार गाउपालिकामा अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । दुवैले गएको स्थानीय तहको चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए । पंञ्चेश्वर गाउपालिकामा गोरख बहादुर चन्द र विना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले पनि गएको स्थानीय तहको चुनावमा जित हासील गरेका थिए ।
