उपमेयरमा समाजवादीका पुनको उम्मेदवारी
रुकुम पश्चिम — रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । ५ दलीय गठबन्धन नहुने पक्का भएपछि यी दुई दलले गठबन्धन गरेर उम्मेदवारी दिएका छन् ।
प्रमुखमा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उपप्रमुखमा समाजवादीका विमलकुमार पुनले उम्मेदवारी दिएका हुन् । सयुंक्त र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उनीहरुले गठबन्धनसहितको उम्मेदवारी मनोनयन गराएका हुन् । दुवै जना केन्द्रीय नेता हुन् । शर्मा पार्टीका जिल्ला इन्चार्जसमेत हुन् । यो नगरपालिकामा २०७४ सालमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।
नेपाली कांग्रेसबाट महेन्द्र केसीले प्रमुख र निर्मला गिरीले उपप्रमुखमा उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रमुखमा थलबहादुर ओली र चन्द्री महतारालाई उपप्रमुखमा उठाउने तयारी गरेको छ । राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले यसअघि नै नगर प्रमुखमा उम्मेदवारी दिइसकेका छन् ।
