कास्की — पोखरा महानगरको मेयर पदमा सिफारिस भएसँगै गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई उनले सोमबार बिहान ११ बजे राजीनामा बुझाएका हुन् ।
पोखरा महानगरको मेयरमा इच्छुक देखिएका थापालाई पन्छाउदै शनिबार एमाले केन्द्रीय कमिटीको वैठकले दिपक पौडेललाई उम्मेदवार चयन गरेको थियो । पूर्वशिक्षकसमेत रहेका पौडेलले पृथ्वीचोकस्थित एक सुनचाँदी पसलमा २०६६ मा सिक्री चोरेको भनिएको सीसीटीभी फुटेज भाइरल भएपछि उनको चौतर्फी विरोध भएको थियो । उनको विरोध गर्ने बढी एमालेकै कार्यकर्ता थिए ।
विवादमा मुछिएका पौडेललाइ लत्याउलै एमालेले सोमबार बिहान थापालाई मेयरको उम्मेदवार घोषणा गरेको हो । थापा पनि विवादमुक्त व्यक्ति भने होइनन् । यसअघि उनी जातीय विवादको मुद्दामा मुछिएका थिए । यस्तै उपमेयर पदमा बहालवाला उपमेयर मन्जुदेवी गुरूङलाई नै उम्मेदवार सिफारिस गरिएको छ । पुनः उपमेयर हुने इच्छा नरहेको भन्दै उनले आइतबार पदबाट राजीनामा दिन मानेकी थिइनन् । सोमबार उनले मेयर मानबहादुर जिसीलाई राजीनामा पत्र बुझाएकी छन् ।
स्रोतका अनुसार आफूभन्दा सिनियर मेयरको उम्मेदवार भएपछि उपमेयरमा पुनः सहमत जनाएकी हुन् । यसभन्दा अघि सिफारिस भएका मेयर पार्टीका प्रदेश सदस्य थिए । गुरुङ भने पार्टीको केन्द्रीय सदस्य हुन् । बिहान ११ बजे एमाले जिल्ला पार्टी कार्यालयमा उपस्थित भई र्यालीसहित दिउँसो उम्मेदवारी दर्ता गर्ने जाने तयारी रहेको बताइएको छ ।
सम्बन्धित समाचार
