कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

काठमाडौँ — नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयर पदका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंह, विराटनगरको मेयरमा नागेश कोइराला र ललितपुरको मेयर चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महानगरमा कांग्रेसका मेयर उम्मेदवार: सिंह, महर्जन र कोइराला

आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । सभापति देउवाले नेताहरूसँगको परामर्शमा सोमबार विहान उम्मेदवारको टुंगो लगाएका हुन् । काठमाडौंमा सिंहलाई उम्मेदवार बनाउन पहिल्यै नेताहरू सहमत भइसकेका थिए ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो । अन्ततः सभापति देउवाले कोइरालालाई मेयर पदको टिकट दिएका हुन् । कोइरालालाई मेयर पदको उम्मेदवार बनाउन नेता शेखर कोइरालाको जोड थियो । तर, सभापति देउवाले भने आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याल वा संघीय सांसद् समेत रहेकी केन्द्रीय सदस्य डिला संग्रौलालाई मेयर पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । मेयर उम्मेदवार बनेका कोइराला पार्टी मोरङ उपसभापति हुन् ।

त्यस्तै, ललितपुर महानगरपालिकामा भने कांग्रेसले पुनः चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि पनि मेयर नै थिए । ललितपुर र विराटनगरमा गत चुनावमा कांग्रेसले एक्लै चुनाव जितेको थियो । तर, यसपटक सत्ता गठबन्धनमा चुनावी तालमेल गर्दा कांग्रेसले विराटनगरको उपमेयर जसपालाई दिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रलाई दिएको छ ।

प्रकाशित : वैशाख १२, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?