कांग्रेस मकवानपुरले टुंग्यायो उम्मेदवार

वैशाख १२, २०७९

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसले गठबन्धनबाट आफ्नो भागमा परेका मकवानपुरका सबै स्थानीय तहको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीले टिकट पाएसँगै कांग्रेसको भागमा परेका सबै स्थानीय तहको प्रमुख उपप्रमुखको उम्मेदवार टुङ्गिएको हो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिले लामो समयको छलफलपछि हेटौंडा र थाहा नगरको उपमेयर उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेस वाग्मती प्रदेश पार्टी कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।

कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङ्तान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

वाग्मती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र इन्द्रसरोवर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully