तनहुँमा गठबन्धनमा सहमति भएन

वैशाख १२, २०७९

सम्झना रसाइली

तनहुँ — आसन्न स्थानीय निर्वाचनका लागि गठबन्धनका दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गर्ने भएका छन् । सत्तारुढ दलबीच भएको गठबन्धनमा स्थानीय निर्वाचनमा तालमेल गर्ने भनेपनि जिल्ला सहमति जुट्न नसक्दा आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दलबीच गठबन्धनमा भागबण्डा मिलाउन सोमबार बिहान बसेको बैठक थियो । पटकपटक बैठक बस्दापनि निष्कर्षविहीन भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । उनले भने, ‘आजै उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले गठबन्धनका दलहरु सबैले आ–आफ्नो हिसाबले उम्मेदवारी दर्ता गर्नुहुन्छ र साँझ पाँच बजे पुन: बैठक बसी तालमेलका लागि प्रयास गरिने छ ।’

कांग्रेस तनहुँले आज दिउँसो तीन बजे जिल्लाका सबै पालिकामा उम्मदेवारी दर्ता गर्ने तयारी भइरहेको जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully