विराटनगरको मेयर उम्मेदवार : कांग्रेसबाट कोइराला र एमालेबाट थापा

वैशाख १२, २०७९

देवनारायण साह

मोरङ — नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरूसँगको परामर्शमा सोमबार बिहान महानगरका उम्मेदवारको टुंगो लगाएका हुन् ।

आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद थियो । अन्ततः सभापति देउवाले कोइरालालाई मेयर पदको टिकट दिएका हुन् । कोइरालालाई मेयर पदको उम्मेदवार बनाउन नेता शेखर कोइरालाको जोड थियो ।

तर, सभापति देउवाले भने आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याल वा संघीय सांसद् समेत रहेकी केन्द्रीय सदस्य डिला संग्रौलालाई मेयर पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । मेयर उम्मेदवार बनेका कोइराला पार्टी मोरङ उपसभापति हुन् । 

सत्तारूढ गठबन्धन दलले मेयर र उपमेयरमा गठबन्धन बनाएर महानगरमा उम्मेदवारी दिने भएका छन् । गठबन्धनबाट उपमेयरमा जनता समाजवादी पार्टीका महानगर अध्यक्ष तथा उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय भएको जसपाका प्रदेश १ उपाध्यक्ष राजकुमार यादवले बताए ।

त्यस्तै एमालेबाट विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले स्वतन्त्रबाट विराटनगर महानगरको मेयरमा आइतबार उम्मेदवारी दर्ता गराइसकेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

देवनारायण

Link copied successfully