विराटनगरको मेयर उम्मेदवार कर्ण
काठमाडौँ — विवेकशील साझा पार्टीले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार विवेकशील साझाले भरतपुर महानगरपालिकाको मेयरमा काफ्ले र उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा विवेकशील साझाले अमलेश कर्णलाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै महानगरपालिकाका उम्मेदवारबारे निर्णय गरेको पाठकले जानकारी दिए ।
भरतपुरका उपमेयर उम्मेदवार सापकोटा र विराटनगरका मेयर उम्मेदवार कर्ण विवेकशील साझाका केन्द्रीय सदस्य हुन् । भरतपुरका मेयर उम्मेदवार काफ्ले भने चितवनका जिल्ला कमिटीका पूर्वसंयोजक हुन् ।
कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए ।
भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् ।
भरतपुरमा सत्तारुढ गठबन्धनबाट माओवादीले मेयरको भाग पाएको छ । उक्त पदमा हालकी मेयर रेणु दाहाल उम्मेदवार बन्ने निश्चित जस्तै रहेको छ । एमालेले भने विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी बाग्मती प्रदेश सभा सदस्य थिए । उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर भरतपुरको मेयरमा उम्मेदवारी दिएका हुन् ।
स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय छुट्याइएको छ ।
