एमाले धादिङले तीन गाउँपालिकामा मात्रै उम्मेदवार टुंगो लगायो

वैशाख ११, २०७९

सरिता श्रेष्ठ

धादिङ — स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता तोकिएको छ । तर उम्मेदवारी दिने दिनसम्म पनि दलहरुलाई उम्मेदवार छान्नै सकस परेको छ । दुई नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको धादिङका कुनै पनि दलले आधिकारिक रुपमा उम्मेदवार तय गरेका छैनन् । नेकपा एमालेले जिल्लाको तीन वटा स्थानीय तहमा मात्रै उम्मेदवारको टुंगो लगाएको छ ।

गल्छी, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा उम्मेदवार टुंगाएको छ । गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाउँविकास समिति अध्यक्ष एवम् गल्छी गाउँ कमिटीका अध्यक्ष हुन् भने तिमिल्सीना यसअघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् । 

सिद्धलेक गाउँपालिका अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा उम्मेदवार बन्ने भएको छ । यसअघि पनि अध्यक्ष र उपाध्यक्ष भएर ५ वर्षीय कार्यकाल पूरा गरेका सिलवाल र शर्मा नै यसपटक पनि उम्मेदवार बनेका छन् । 

त्यस्तै गंगाजमुना गाउँपालिका अध्यक्षमा भक्तबहादुर लामिछाने र उपाध्यक्षमा एन्जीला तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने गाउँ कमिटीले निर्णय गरेको छ । लामिछाने वडा अध्यक्ष हुन् भने तामाङ गाउँपालिका उपाध्यक्ष हुन् ।  

एमालेले केही वडाहरुको उम्मेदरवार समेत टुंगो लगाएको छ । अन्य स्थानीय तह र वडाहरुको उम्मेदवार बेलुकासम्ममा टुंगो लगाउने नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । आकांक्षी धेरै भएका कारण उम्मेदवार टुंगो लगाउन सकस परेको बताइएको छ । 

स्थानीय तह निर्वाचन २०७९

सरिता

Link copied successfully