धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी दर्ता

वैशाख ११, २०७९

मोहन बुडाऐर

धनगढी — धनगढी उप–महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढीको ट्राफिक चोकबाट बाजागाजासहित स्वतन्त्र शक्तिको प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर हमालले आइतबार ११ बजे उम्मेदारी दर्ता गराएका हुन् 

उम्मेदवार हमाल  २०७४ को स्थानीय तहको चुनावमा धनगढी उप–महानगरका विजयी मेयर नृपबहादुर वडका निकटतम प्रतिद्वन्द्वी बनेका थिए । त्यसबेला पनि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनीले वडभन्दा २ हजार ७ कम कम ल्याएर  हारेका थिए । उनले ११ हजार ६ सय बढी मत ल्याएका थिए । वडले १४ हजार ३ सय मत ल्याएका थिए । 

२०७४को निर्वाचनमा एमाले र माओवादीले स्वतन्त्र उम्मेदवार हमालभन्दा कम मत ल्याएका थिए । अहिले पनि स्वतन्त्र उम्मेदवार हमाललाई गठबन्धन उम्मेदवारको निकटतम प्रतिद्वन्दीकै रुपमा नगरबासीले हेरेका छन् । 

हमाल सुदूरपश्चिमको प्रतिष्ठित दिनेश ग्रुपका अध्यक्ष हुन् । कैलाली उद्योग वाणिज्य संघमा रहँदा उनले सुन्दर सुदरपश्चिम अभियान चलाएकाले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता पनि भनिन्छ । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको केन्द्रीय सदस्य भइसकेका छन् । 

मनोनय दर्ता गर्दै बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी भएको बताए । ‘जनताले  गठबन्धन गरेका छैनन्, नेताहरुले गरेका हुन्,’ उनले भने, 'समाज र हाम्रो सहर बनाउनका लागि गठबन्धन नभएर बाँडीचुँडी खानका लागि भएकोले जनताले आफूलाई भोट दिएर जिताउनेमा ढुक्क छु ।’

हमालको स्वतन्त्र उम्मेदवारीसँगै धनगढी वडा नम्बर ४ मा सिद्धराज पनेरु, वडा नम्वर ५ मा पदम राज भट्ट, वडा नम्बर १४ मा यम लामिछाने  र १५मा कमलबहादुर ढाटले पनि वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट भोलि उम्मेदवारी दर्ता हुने 

सत्ता गठबन्धन र विपक्षी एमालेलगायतका अधिकांश राजनीतिक दलले सोमबार उम्मेदवारी दर्ता गराउने भएका छन् । धनगढी  उपमहानगरमा गठबन्धनभित्र वडा अध्यक्षका उम्मेदवारीमा सहमति अझै जुट्न नसकेकोले सोमबारसम्ममा उम्मेदवारी दर्ता हुने बताइएको छ । मेयरमा नेपाली कांग्रेसले भाग भएको सत्ता गठबन्धनभित्र उपमेयर माओवादीले पाएको छ । 

नेपाली कांग्रेसबाट मेयरको टिकट पुनः नृपबहादुर वडले नै पाएका छन् । माओवादीकातर्फबाट उपमेयरमा शान्ति अधिकारीले टिकट पाएकी छन् । एमालेले रणबहादुर चन्द मयेरमा  र उपमेयरमा नन्दकला रानालाई उम्मेदवार बनाउन लागेको छ । 

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully