महोत्तरी — लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीका ७ पालिकामा पहिला चुनाव जितेका प्रमुखहरुलाई नै पुन: पालिका प्रमुखको उम्मेदवार बनाउने भएको छ ।
लोसपाका अध्यक्ष तथा महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महन्त ठाकुरले चुनाव जित्ने रणनीतिका आधारमा टिकट वितरण गरेको पार्टीका अन्य व्यक्तिको बुझाइ छ ।
पार्टीले उही व्यक्तिलाई दोहोर्याएर टिकट दिँदा असन्तुष्ट केही आकांक्षी भने अध्यक्ष ठाकुर र पार्टीको निर्णय मान्न बाध्य छन् । आकांक्षीहरुबाट पार्टीमा चर्काे विरोध र विद्रोह नभएपछि महोत्तरीका सबै पालिकामा निर्वाचन जितेका र निर्वाचनमा पराजय बेहोरेका व्यक्ति नै मनोनयन दर्ता गर्दैछन् ।
लोसपाकी केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं ३ की प्रदेश सांसद रानी शर्मा तिवारीले महोत्तरीका पालिका प्रमुख उपप्रमुखको टिकट टुंगो लगाउन पार्टीलाई कुनै अप्ठ्यारो नपरेको बताइन् । वडा तथा नगर समितिले सिफारिस गरी निर्णय गरेका व्यक्तिलाई नै पार्टी कार्यालयले टिकट दिएको उनले बताइन् । लोकतान्त्रिक प्रक्रियाबाटै आफूहरुले व्यक्ति छानेको उनले दाबी गरिन् ।
'पहिलो निर्वाचनमा बढी आंकाक्षी थिए, व्यक्ति छान्न गाह्रो भएको थियो', उनले भनिन्, 'अहिले पार्टिका स्थानीय कमिटीले छानेको व्यक्ति र गरेको निर्णयलाई नै पार्टीले सदर गरेको छ ।' फेरि सिफारिस भएका व्यक्ति काम गरेर पार्टी कार्यकर्ता र जनतामाझ प्रिय भएकाले उनीहरुकै नाम स्थानीय स्तरबाट सिफारिस भएको उनले बताइन् ।
साबिक राजपाबाट निर्वाचन जितेर अहिले लोसपामा रहेका महोत्तरीका १५ पालिकामध्ये मटिहानीका मेयर हरि मण्डल, जलेश्वरका शिवशंकर मिश्र, एकडाराका अध्यक्ष रामछविला साह, भंगाहा नगरपालिकाका संजिव साह,महोत्तरी गाउँपालिका र मनराशिसवा नगरपालिकामा निर्वाचन जितेर एक कार्यकाल चलाएका प्रमुखलाई नै ठाकुरले टिकट दिएका छन् । अन्य पालिका पालिका सोनामामा विशेश्वर यादव,लोहरपट्टिमा रामसुहाग यादव, बलवामा रामविजय महतो, औरहिमा बद्रि खड्का, गौशालामा देवनारायण महतो, बर्दिवास र रामगोपालपुरमा पनि यसअघि टिकट पाएका तर केही मतान्तरले जित हात पार्न नसकेका व्यक्तिलाई लोसपाले पुन: टिकट दिएको छ ।
राजपा फुटेर दुई वटा पार्टी बनेपछि बनेको लोसपा महोत्तरीमा जसपाभन्दा बलियो देखिएपनि केही पालिकामा भने जसपाको प्रभाव लोसपाको भन्दा राम्रो छ । पार्टीका अध्यक्ष ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी क्षेत्र नम्बर ३ को मुख्य पालिका जलेश्वरमा जसपाको प्रभाव राम्रो देखिन्छ । जलेश्वरमा यसअघिका मेयर शिवशंकर मिश्रलाई नै लोसपाले टिकट दिएको छ । मिश्रसँग निर्वाचनमा जसपाबाट शुरेस साह सोनारले प्रतिस्पर्धा गर्ने भएका छन् । सोनार यसअघिको स्थानिय निर्वाचनमा र प्रदेश निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।
त्यस्तै महोत्तरीको मटिहानी र पिपरामा पनि जसपा प्रतिस्पर्धामा उत्रिने स्थानीयले बताएका छन् । पिपरामा जसपाबाट रामजानकी यादव र मटिहानीबाट मोजिम राईन प्रमुख निकटतम प्रतिद्वन्द्वी भएर चुनाव लडेका थिए ।
संगठन,पार्टी र जनता सबैले मन पराएको मान्छेले टिकट पाएको भंगाहा नगरपालिकाका पूर्व मेयर संजिव साहले बताए । फेरि मेयरमै आफ्नो दाबेदारी रहने पक्का भएपछि भंगाहा नगरपालिकाको मेयरबाट साहले राजीनामा दिइसकेका छन् । फेरि उही नेतृत्व आवश्यक ठानेर पार्टीले आफूहरुलाई पुन: टिकट दिएको साहले बताए ।
