धेरै ठाउँमा सत्ता गठबन्धनको उम्मेदवारी दर्ता सोमबारमात्रै

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ । तर, सत्ता गठबन्धनले भने देशभर अधिकांश ठाउँमा सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराउने भएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले देशभर ५० प्रतिशतभन्दा धेरै ठाउँमा चुनावी तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेका छन् ।

कतिपय ठाउँमा चुनावी तालमेलको खाका नै तय भइनसकेकाले गठबन्धनले सोमबारमात्रै उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको हो । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महानगरपालिकाकै उम्मेदवारको टुंगो लगाएको छैन । महानगरका मेयर र उपमेयरका उम्मेदवार छान्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि निरन्तर छलफल गरिरहेका छन् । तर, अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । 

गठबन्धनको शनिबार साँझ बसेको बैठकले आइतबार बेलुकासम्म मात्रै देशभर कहाँ कहाँ तालमेल गर्ने भन्ने टुंगो लगाउने तयारी छ । त्यसपछि मात्रै दलहरूले उम्मेदवारको टुंगो लगाउनेछन् । त्यसबारे छलफल गर्न अहिले सत्ता गठबन्धनको कार्यदलले देशभरिको अवस्थाबारे छलफल गरिरहेको छ भने दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकले त्यसबारे निर्णय गर्नेछ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावी तालमेल गरेर उम्मेदवारको समेत टुंगो लागिसकेका ठाउँमा आइतबारै र नटुंगिएका ठाउँमा सोमबार मात्रै उम्मेदवारको मनोनयन हुने बताए । ‘केन्द्रबाट महानगरको मात्रै टिकट वितरण गर्ने हो । बाँकी प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रबाटै टिकट वितरण हुन्छ,’ उनले भने, ‘आज जहाँ चुनावी तालमेलबारे निर्णय भएर उम्मेदवार छनोट भइसकेका छन्; ती ठाउँमा मनोनयन दर्ता हुन्छ । बाँकीमा सोमबारसम्म हुन्छ ।’ 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि केही ठाउँमा गठबन्धनको बारेमा छलफल भइरहेकाले ती ठाउँमा सोमबार मात्रै मनोनयन दर्ता हुने बताए । ‘सहमति भइसकेका ठाउँमा आइतबारै मनोनयन दर्ता हुन सक्छ । तर, जहाँ तालमेल र उम्मेदवारको टुंगो लागेको छैन; त्यसका लागि भोलिसम्मको समयसीमा छँदैछ,’ उनले भने । 

गठबन्धनले केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँट गरे पनि ती ठाउँमा उम्मेदवारको टुंगो लागेको छैन । त्यसैले महानगरपालिका र उपमहानगरपालिकामै पनि आइतबार गठबन्धनको मनोनयन दर्ता हुने सम्भावना कम छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully