चितवन — भरतपुर महानगरपालिका र माडी नगरपालिकामा उपमेयर बाँकी राखेर चितवन नेकपा (एमाले)ले जिल्लाका सातै पालिकाका मेयर र पाँच पालिकाका उपमेयरको नाम टुंग्याएको छ । एमाले पहिला मेयर जितेकामध्ये एक जनालाई मात्रै यो पटक दोहर्याएको छ । उपमेयर जितेका दुई जनालाई मेयरमा उठाउने भएको छ । मेयर तथा प्रमुखका सात जना उम्मेदवारमध्ये आदिवासी दुई जना, जनजाति एक जना र महिला दुई जना छन् ।
भरतपुर महानगरपालिकामा एमालेले चैत्र २७ मै विजय सुवेदीलाई मेयरमा उठाउने प्रस्ताव पारित भएको थियो । सुवेदी चितवन क्षेत्र–२ ‘ख’बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । भरतपुरमा राप्रपासँग एमालेको चुनावी तालमेल हुने चर्चा छ । त्यसैले यहाँ एमालेले उपमेयरको उम्मेदवार तय गरेको छैन । एमाले चितवनका उपसचिव प्रकाश ढुंगानाका अनुसार माडीमा पनि उपमेयरको उम्मेदवार तोक्न बाँकी छ ।
एमालेले राप्ती नगरपालिकामा मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनुका पाठकलाई उठाउने निर्णय गरेको उपसचिव ढुंगानाले जानकारी दिए । त्यसैगरी खैरहनीमा अहिलेकै मेयर लालमणि चौधरीलाई दोहर्याउने भएको छ । खैरहनीमा कविता उप्रेती उपमेयरकी उम्मेदवार हुने भएकी छन् । रत्ननगरमा विमला दुवाडी मेयर र यादव पाठक उपमेयरमा उठ्ने छन् । दुवाडी हाल रत्ननगरकी उपमेयर हुन् ।
त्यसैगरी माडी नगरपालिकामा ताराकाजी महतो मेयरमा उउठ्ने पार्टीका जिल्ला उपसचिव प्रकाश ढुंगानाले बताए । माडीमा पनि एमालेको राप्रपासँग चुनावी तालमेल हुने सम्भावना छ । त्यसैले यहाँ पनि एमालेले उपमेयर तोकेको छैन । तालमेलको विषयमा एमाले र राप्रपाले औपचारिक रुपमा भने केही भनेका छैनन् । कालिका नगरपालिकामा विनोद रेग्मी मेयरमा र विमला लामा उपमेयरमा उठ्ने भएका छन् ।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा दानबहादुर गुरुङलाई प्रमुख र माया सिलवाललाई उपप्रमुखमा उठाउने एमलोले निर्णय गरेको छ । अघिल्लो स्थानीय तह निर्वचनमा चितवनमा एमालेले राप्ती, खैरहनी, रत्ननगर, कालिकामा मेयर उपमेयर दुवै पद र माडीमा उपमेयर जितेको थियो । एमालेबाट महिला उम्मेदवार रहेकी प्रभा बराल राप्तीको मेयरमा निर्वाचित भएकी थिइन् ।
