‘राजनीतिक पार्टीबाट चुनाव जित्दा पिँजडाको सुँगा जस्तो भइन्छ । आफ्नो हकअधिकार पार्टीको स्वार्थमा प्रयोग हुन्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’
काठमाडौँ — २०२९ सालदेखि लगातार स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्षमा निर्वाचित भएका नरसिंह व्यञ्जनकार स्थानीय तहको आगामी चुनावका लागि पनि उम्मेदवारी दिएका छन् । ८१ वर्षीय व्यञ्जनकारले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले ललितपुर-१० को वडाध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
व्यञ्जनकारले अहिलेसम्म कुनै चुनाव हारेका छैनन् । पहिलो पटक चुनाव लड्दा तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा उनले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०२९ मा ललितपुर नगरपालिका वडा नम्बर १ बाट अध्यक्षमा जितेका थिए ।
चुनाव जितेपछि उनले जनतालाई सेवा दिन थाले । जनताको विश्वास जित्न सफल भए । गाउँ फर्क राष्ट्रिय अभियान आएपछि २०३४ मा उनी नै छनोट भए । २०३६ मा जनमतसंग्रहको घोषणापछि राजीनामा दिएर बहुदललाई जिताउने अभियानमा होमिए । २०३९ मा भएको स्थानीय निकायको चुनावमा निर्विरोध भए । २०४० मा तत्कालीन प्रधानपञ्चसँग नगरपालिकाको भवन बनाउने विषयमा विवाद भएपछि उनले राजीनामा दिए ।
उनी २०४१ मा भएको उपचुनाव र २०४३ मा भएको चुनावमा फेरि वडाध्यक्षमा निर्विरोध भए । २०४९ मा कांग्रेसबाट निर्विरोध भए । २०५४ मा र शाही शासनकालमा गरिएको चुनावमा पनि उनी निर्विरोध भए ।
गत चुनावमा भने व्यञ्जनकारले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराएका थिए । नरसिंहले ६ सय ९१ मत ल्याए भने कर्मलालले ५ सय ९४ र एमालेका कुलबहादुर आचार्यले १ सय ८७ मत ल्याएका थिए ।
उनलाई चुनावमा विभिन्न पार्टीले टिकट दिन खोजे पनि उनी लिन मान्दैनन् । उनी भन्ने गर्छन्, ‘राजनीतिक पार्टीबाट चुनाव जित्दा पिँजडाको सुँगा जस्तो भइन्छ । आफ्नो हकअधिकार पार्टीको स्वार्थमा प्रयोग हुन्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’ उनी जनताले कामको मूल्यांकन गरेर आफूलाई जिताएको बताउँछन् ।
तस्बिरहरू : इलिट जोशी/कान्तिपुर
