काठमाडौँ — विवेकशील साझाका उम्मेदवारहरूले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएका छन् । विवेकशील साझाले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको थियो ।
मेयर उम्मेदवार बास्कोटा र उपमयेर उम्मेदवार तुलाधरले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।
'देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ' भन्ने नारा अघि सार्दै विवेकशील साझाले बास्कोटा र तुलाधरलाई उम्मेदवार बनाएको थियो ।
मेयर उम्मेदवार बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीया बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
उपमेयर तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।
काठमाडौं महागरपालिकाको मेयरमा पहिलो मनोनयन दर्ता आनन्दराज जोशीले गराएका थिए ।
जोशीले राष्ट्रिय यथार्थवादी पार्टी, नेपालबाट मनोनयन दर्ता गराएका हुन् । उनी काठमाडौं वडा नम्बर १९ का बासिन्दा हुन् ।
