महाकाली नगरमा पुनः उम्मेदवार बन्न राजीनामा

वैशाख ११, २०७९

मनोज बडू

दार्चुला — स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट नगरप्रमुख विजयी भट्टले आइतबार नगर उपप्रमुख सुना बोहरालाई राजीनामा बुझाएका हुन् ।

सदरमुकामको महाकाली नगरपालिकामा भट्टलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय अनुसार नगरप्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको भट्टले बताए । 

यसअघि शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी र उपप्रमुख राजमति पालले राजीनामा बुझाइसकेका छन् । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी उपाध्यक्ष वाग्मती ठगुन्ना, लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशी उपाध्यक्ष माधवी जोशीले पनि राजीनामा बुझाएका छन् । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी र उपाध्यक्ष गौरीदेवी ठगुन्नाले राजीनामा बुझाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully