चितवन — स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ता हुने दिन आइतबार चितवन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहानैदेखि चहलपहल सुरु भएको छ । मनोनयन दर्ता १० बजेपछि मात्रै सुरु हुन्छ । तर कर्मचारीहरु बिहानैदेखि कार्यालय आएर आवश्यक तयारीमा जुटेका छन् । चितवनमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका गरी सात स्थानीय तह छन् ।
बिहान सवा सात हुँदै गर्दा कार्यालयका सुचना अधिकारी पुरुषोत्तम पौडेल र अर्का अधिकृत आनन्द न्यौपाने कार्यालय भित्र भेटिए । उनीहरु छुटपुट केही छ या छैन भनेर हेर्न रुजु गर्न व्यस्त थिए । ‘१० बजेदेखि दर्ता गर्न हामी तयारी अवस्थामा छौं,’ सूचना अधिकारी पौडेलले भने । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुसहित वडाध्यक्षका लागि कार्यालयको फरक फरक कोठाहरु दर्ताको लागि प्रबन्ध गरेको उनले बताए ।
उम्मेदवारी दर्ता गर्न आउनेहरुले कागजपत्र र विवरणहरु पेस गर्ने छन् । कर्मचारीले रुजु गर्दै कम्प्युटरमा इन्ट्री गर्ने छन् । त्यसपछि निस्सा दिन्छन् । मनोनयन दर्ताका लागि आइतबार र सोमबार समय छुट्याएको छ । सोमबार ६ बजे मनोनयन सूची सार्वजनिक हुने छ । मंगलबार उजुरी दिने समय छ । उजुरी उपर छानबिन गरेर १५ गते अर्को सूची सार्वजनिक हुने छ । त्यसपछि १६ गते नाम फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ ।
चितवनमा जिल्लामा ३४ वटा दलहरुले निर्वचन प्रयोजनका लागि दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले जानकारी दिए । यी दलले उठ्न स्वीकृति दिएका उम्मेदवारहरु दलीय हैसियतमा र अन्यले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराउने छन् । चितवनमा कुल मतदाता तीन लाख ९७ हजार ६८५ छन् । २९ वटा वडाहरु रहेको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै एक लाख ८५ हजार ७५२ मतदाता छन् ।
सबैभन्दा कम मतदाता सातवटा वडाहरु रहेको इच्छाकामाना गाउँपालिकामा १५ हजार ६३४ मतदाता छन् । रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनी नगरपालिकामा ४३ हजार ५३१, राप्ती नगरपालिकामा ४० हजार ६४९, कालिका नगरपालिकामा ३१ हजार १५७ र माडी नगरपालिकामा २८ हजार ३२० मतदाताहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
चितवनमा अघिल्लो स्थानीय तह निर्वाचनमा राप्ती, खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर जितेको थियो । इच्छाकामाना गाउँपालिकाको प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । त्यसैगरी भरतपुर महानगरपालिकको प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । माडी नगरपालिकाको प्रमुख माओवादी केन्द्र र उपप्रमुख एमालेले जितेको थियो ।
यो पटक सत्तारुढ गठबन्धन चुनावी तालमेलसहित निर्वाचनमा जाँदै छ । एमाले पनि केही स्थानीय तहमा अरु दलहरुसँग तालमेल गर्ने प्रयासमा छ । त्यसैले सत्तारुढ गठबन्धनमा सामेल दलहरु र एमाले पनि पद बाँडफाँट र उम्मेदवार चयनमा नै व्यस्त भएका कारण यी दलहरुमा सबै स्थानीय तहमा आज नै उम्मेदवारी दर्ता हुने सम्भावना भने कम छ ।
