दार्चुलामा गठबन्धनमा भागबण्डा मिल्यो

कांग्रेसबाट ५ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीबाट ४ प्रमुख र २ उपप्रमुख

वैशाख ११, २०७९

मनोज बडू

दार्चुला — स्थानीय तह निर्वाचनका दार्चुलामा गठबन्धनमा उम्मेदवारहरुको भागबण्डा मिलेको छ । शनिबार राति पत्रकार सम्मेलन गरी ५ पालिका प्रमुख, ७ उपप्रमुखसहित ४६ वडामा कांग्रेस र ४ पालिका प्रमुख २ पालिका उपप्रमुखसहित १५ वडामा माओवादीबाट उम्मेदवार बनाउने सहमति भएको छ ।

कांग्रेस र माओवादी केद्र सम्मेलित गठबन्धनले संयुक्त पत्रकार सम्मेलन गरी भागण्डाबारे जानकारी दिइ गठबन्धनका संयोजक एवंं कांग्रेस सभापति ललितसिंह बोहराका अनुसार सत्तारुढ अन्य दलहरुका उम्मेदवारलाई वडाहरुमा समेट्ने सहमति भएको बताए । उनका अनुसार कांग्रेसले ब्यास गाउँपालिकामा अध्यक्षसहित ६ वटै वडाअध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने सहमति छ । दुहुमा अध्यक्ष, उपाध्यक्षसहित चार वडा अध्यक्ष कांग्रेस र माओवादीले एक वडा अध्यक्ष पाउने सहमति छ । 

त्यस्तै कांग्रेसले महाकाली नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित आठ वटा वडा अध्यक्ष र माओवादीले एक वडा अध्यक्ष पाउने सहमति जुटेको छ । मालिकार्जुनमा कांग्रेसले ६ वडाध्यक्षसहित अध्यक्ष र माओवादीले दुई वडाध्यक्षसहित उपाध्यक्षमा उम्मेदवारी दिने छन् । 

शैल्यशिखर नगरपालिकामा प्रमुख उपप्रमुखसहित ७ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष माओवादी केन्द्रले पाउने छ । लेकम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रले पाउने र कांग्रेसले उपाध्यक्षसहित ६ वडाध्यक्षमा उम्मेदवारी दिने छन् । मार्मा गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षसहित ४ वडाध्यक्ष र कांग्रेसले दुई वडाध्यक्षसहित उपाध्यक्षमा सहमति भएको छ । 

त्यसैगरी अपिहिमाल गाउँपालिकामा माओवादीले तीन वडाअध्यक्षसहित पालिका अध्यक्ष र कांग्रेसले उपाध्यक्षसहित तीन वडाध्यक्ष पाएको छ । नौगाड गाउँपालिकामा माओवादीले पालिका अध्यक्षसहित २ वडाध्यक्ष र कांग्रेसले उपाध्यक्षसहित चार वडाध्यक्षमा उम्मेदवारी दिने सहमति जुटेको कांग्रेस सभापति बोहराले जानकारी दिए । 

समाजवादीलाई केही वडा सदस्य दिएर कार्यपालिकामा ल्याउने र जनमोर्चालाई पनि एक/दुई वडाध्यक्षहरुमा समेटेर कार्यपालिकामा ल्याउने सहमति भएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक एवंं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully