पाल्पा — नेकपा एमाले पाल्पाले १० स्थानीय तहमै उम्मेदवार टुंग्याएको छ । केही स्थानमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् भने कतिपय नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेश कमिटिको बैठकले शनिबार राति उम्मेदवार टुंगो लगाएको हो ।
एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका छन् । उप–प्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशि श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा भने २०७४ कै उम्मेदवार दुर्गा रानालाई टुंगो लगाएको छ ।
निस्दी गाउँपालिकामा पुरानै अनुहार मुक्तबहादुर सारुलाई अध्यक्ष र उपाध्यक्षमा नयाँ अनुहार तीरण श्रेष्ठलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । पूर्वखोला गाउँपालिकामा पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाएको छ । रम्भामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई उम्मेदवार बनाएको छ । चिदी यसअघिकी उपाध्यक्ष हुन् । एमालेले महिलालाई प्रमुख पदमा यहाँ उम्मेदवार बनाएको छ ।
तिनाउ गाउँपालिकामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार टुंग्याएको छ । दुवै स्वास्थ्यकर्मीबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । रिब्दीकोटमा पुरानै अनुहार अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाल उम्मेदवार बन्ने भएका हुन् । जीसी र खनाल २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेदवार टुंगो लगाएको हो ।
एमाले जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य ठाकुर गैरेले पालिका तहबाट सिफारिस भएर आएकाहरुलाई जिल्ला हुँदै प्रदेश कमिटीले उम्मेदवार टुंगो लगाएको बताए । ८१ वटै वडाको उम्मेदवार आइतबर नै टुंगो लगाएर सोमबार मात्र मनोनयन दर्ता हुनेछ ।
