काठमाडौँ — स्थानीय तह निर्वाचनको उम्मेदवार चयनको विषयले कांग्रेसमा आन्तरिक शक्ति संघर्ष चर्केको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहको शक्ति संघर्षका कारण कांग्रेसले लगातार तीन दिन बैठक बस्दा पनि महानगरपालिकाका उम्मेदवार छान्न सकेको छैन ।
सत्ता गठबन्धनभित्रको भागबन्डाअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिले महानगरपालिकातर्फ काठमाडौं, ललितपुर र विराटनगरमा प्रमुख तथा पोखरा, भरतपुर र वीरगन्जमा उपप्रमुख पदका उम्मेदवार टुंगो लगाउनुपर्नेछ । उपमहानगरका प्रमुख–उपप्रमुखका उम्मेदवार पनि केन्द्रबाटै टुंगो लगाउने कांग्रेसको विधानमा व्यवस्था छ । कांग्रेसमा नेता कोइरालाको गृह क्षेत्र विराटनगरमा को उम्मेदवार बनाउने भन्ने विषयमा मुख्य विवाद देखिएको छ । यस विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति साढे १० बजेसम्म चलेको बैठकले सहमति जुटाउन नसकेपछि आइतबार बिहान पुनः बैठक बोलाइएको छ । आइतबार र सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
कांग्रेसले शनिबार बिहान काठमाडौं प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने समझदारी बनाएको थियो । पूर्वउपसभापति एवं नेता प्रकाशमान सिंहले पत्नी सिर्जनालाई उम्मेदवार बनाउने इच्छा राखेपछि कसैले विवाद झिकेका थिएनन् । १४ औं महाधिवेशनमा देउवाका मुख्य प्रतिस्पर्धी रहेका नेता कोइरालाले आफ्नो गृह क्षेत्र र कोइराला परिवारको राजनीतिको मुख्य केन्द्र रहेको विराटनगरमा पनि काठमाडौंको जस्तै समझदारी बनोस् भन्ने इच्छा प्रकट गरेका थिए ।
शेखरले पार्टीका जिल्ला उपसभापतिसमेत रहेका नागेश कोइरालाको नाम प्रस्ताव गरेका थिए । उनी कांग्रेस विभाजित हुँदा देउवाको पक्षमा थिए । दुई कांग्रेसबीचको एकीकरणपछि शेखर पक्षमा आएका हुन् । उनको नाम महानगर समितिले पहिलो नम्बरमा सिफारिस गरेको थियो । देउवाले आफूपक्षीय नेतामार्फत पूर्वसांसद अमृत अर्याललाई अघि सारे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले हालका प्रमुख भीम पराजुलीकै नाम अघि सारेका थिए । अन्य ठाउँमा दोहोर्याउने हो भने पराजुलीलाई किन नदोहोर्याउने भन्दै सिटौलाले उनैको नाममा अडान राखिरहे । सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्यालका पक्षमा अडान लिए । स्रोतका अनुसार देउवा सिटौलाको प्रस्तावअनुसार पराजुलीको नाममा सहमति गर्न चाहन्छन् । ‘कांग्रेसमा मिलाउनेभन्दा पनि एउटा पक्षलाई कमजोर बनाउने र पार्टी कब्जा गर्ने रणनीति बनाइएको छ,’ शेखरपक्षीय एक नेताले भने, ‘विराटनगरमै शेखर कोइरालाको असहमतिका बीचमा उम्मेदवार दिने हो भने देशभरको अवस्था के होला ?’
शेखरले आफ्नो क्षेत्र भएको, नगर र जिल्लाले समेत नागेशको नाम अघि सारेको भन्दै त्यसभन्दा दायाँबायाँ गर्न नहुने अडान राखेका थिए ।
ललितपुरमा चिरीबाबु महर्जन र प्रेम कृष्ण महर्जनबीच कसलाई उम्मेदवार बनाउने भन्नेमा विवाद छ । देउवा चिरीबाबुलाई दोहोर्याउने पक्षमा छन् । तर जिल्लामा उनकै पक्षका एकथरी नेता भने प्रेमकृष्णका पक्षमा छन् । भरतपुर महानगरपालिकामा उपप्रमुखमा पार्टीको महानगर कार्यसमिति सभापति चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ । देउवाले दिउँसोसम्म अधिकारीको नाम अघि सारेका थिए । भरतपुरको प्रमुख माओवादी केन्द्रलाई दिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपप्रमुखमा घिमिरेलाई अघि सार्दा असन्तुष्ट पक्षको आवाज मत्थर हुने राय देउवालाई दिएका थिए । कांग्रेस बैठकमा नेता रामचन्द्र पौडेलले समेत घिमिरको नाम अघि सारेका थिए ।
पोखरा महानगरका लागि उपप्रमुखमा महानगर कार्यसमिति अध्यक्ष सुरेन्द्रमान बिजुक्छे र कोपिला रानाभाटको नाममा विवाद छ । देउवाले बिजुक्छेलाई उम्मेदवार बनाउन खोजेका छन् भने पौडेल र कोइरालाले रानाभाटको नाम अघि सारेका छन् । वीरगन्जमा अहिलेसम्म छलफल नै अघि बढेको छैन । बैठकमा सहभागी सञ्चारमन्त्री कार्कीले कमभन्दा कम विवाद होस् भनेर उम्मेदवार चयनमा ढिलाइ भएको बताए । ‘भोलि बिहान (आइतबार) सम्म समझदारीमै उम्मेदवार दिन्छौं, अहिले धेरै कोणबाट छलफल भइरहेको छ । विवाद पनि नहोस्, उम्मेदवार लोकप्रिय पनि होस् भन्ने चाहनाले ढिलाइ भएको हो,’ उनले भने ।
उम्मेदवार चयन गर्न कांग्रेसको आन्तरिक बैठक बसिरहेका बेला माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका थिए । दाहाल र नेपालले तालमेलको सहमति हुन नसकेका तल्ला तहका पालिकामा मनोनयन दर्ता गर्नुअघि सहमति जुटाउन पहल गर्न कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए ।
