पूर्वी नवलपरासीमा गठबन्धनमा सहमति

माओवादीलाई ३ पालिकामा उपप्रमुख

वैशाख ११, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गठबन्धनमा भागबण्डा मिलेको छ । यहाँ कांग्रेस र गठबन्धनका अन्य ४ दलबीच सिट बाँडफाँट गरेर निर्वाचनमा जाने सहमति जुटेको छ ।

शनिबार राति ११ बजे सकिएको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको हो । यहाँको कावासोती, देवचुली नगरपालिका र बौलीकालीमा उपप्रमुख माओवादीलाई दिने सहमति भएको हो ।

कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले ती तिनवटा पालिकामा उपप्रमुख पद माओवादीलाई दिने र अन्य दललाई १० वटा वडा दिनेगरी सहमति भएको जानकारी दिए ।यसअघिको स्थानीय तह निर्वाचनमा माओवादीले पूर्वी नवलपरासीका ८ वटा पालिकामा ७ वटामा स्पष्ट बहुमत जितेको थियो । 

यसअघि गठबन्धनका दलले ७ वटा पालिका मागेका कारण वार्ता अघि बढन सकेको थिएन । राति अबेर दुई दलबीच सहमति भएको हो ।

गैंडाकोटमा माओवादी र जनमोर्चालाई ४ वटा वडा दिने निर्णय भएको छ । ३ वटा माओवादीलाई र एउटा वडा जनमोर्चालाई दिने निर्णय भएको छ । त्यस्तै कावासोती, र मध्यविन्दु नगरपालिकामा पनि वडा सदस्य दिने सहमति भएको रानाभाटले जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully