कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महानगरमा टिकट बाँड्न कांग्रेसलाई सकस, कस-कसको नाममा हुँदैछ छलफल ?

प्रकाश धौलाकोटी

काठमाडौँ — स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरको टिकट वितरणमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनको बहस सतहमा आएको छ । छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूबीच शक्ति बाँडफाँटको विषयले विवाद उत्पन्न भएको हो ।

महानगरमा टिकट बाँड्न कांग्रेसलाई सकस, कस-कसको नाममा हुँदैछ छलफल ?

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि निरन्तर त्यस विषयमा शीर्ष नेताहरू र पदाधिकारीबीच छलफल गरिरहेका छन् । तर, अहिलेसम्म कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने टुंगिएको छैन । नेताहरूले आफ्नो प्रभाव भएको क्षेत्रमा आफूले प्रस्ताव गरेको व्यक्ति उम्मेदवार हुनुपर्ने अडान राखेका छन् ।

काठमाडौंको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरूबीच सहमति भएको छ भने भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको नामसमेत टुंगो लागेको नेताहरूको भनाइ छ । ‘काठमाडौं र भरतपुरको विषय करिब टुंगिएको छ । लिखित हुन मात्रै बाँकी हो,’ एक पदाधिकारीले इकान्तिपुरसँग भने, ‘बाँकी ठाउँमा कसरी शक्ति सन्तुलन गर्ने भन्ने समस्या देखिएको छ । त्यहीकारण सहमति भएको छैन ।’

सभापति देउवा, नेता शेखर कोइराला र अर्का नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अघि सारेका छन् । बैठकमा अहिले वीरगञ्ज महानगरपालिकाको उपमेयरका विषयमा छलफल भएको छैन । बाँकीमध्ये ललितपुर र विराटनगरको मेयर तथा पोखराको उपमेयरका विषयमा नेताहरूबीच विवाद छ ।

ललितपुर महानगरपालिकामा संस्थापन पक्षकै नेताहरूबीच मतभेद भएको छ । केन्द्रीय सदस्यद्वय मदन अमात्य र उदय शमशेरले फरक-फरक व्यक्तिको नाम अघि सार्दा ललितपुरको मेयर पदको उम्मेदवार टुंगो लागेको छैन । ‘ललितपुरमा हालका मेयर चिरिबाबु महर्जन कि अर्का नेता प्रेमकृष्ण महर्जनलाई मेयरमा उठाउने भन्ने विवाद छ । दुवै जना सभापतिजीकै मान्छे हुन्,’ एक नेताले भने, ‘चिरिबाबुलाई अमात्यले साथ दिएका छन् । प्रेमकृष्णलाई शमशेरले अघि बढाएका छन् । ठूलो पार्टी छ, एउटै मान्छेलाई पटक-पटक अवसर दिनुहुन्न । सबैलाई मौका दिनुपर्छ भन्ने कुरा पनि छ । त्यहीकारण टुंगो लागेको छैन ।’

ललितपुरको मेयरका लागि ९ जनाको दाबी छ । ललितपुरमा ०७४ मा कांग्रेसले एक्लै मेयर र उपमेयर जितेको थियो । यसपटक गठबन्धन गर्दा कांग्रेसले ललितपुरमा मेयरमात्रै पाएको छ । मेयरका लागि महर्जनद्वयबाहेक नगर सभापति शुभानन धाख्वा, हालकी उपमेयर गीता सत्याल, नेताहरू भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएर आएको छ ।

नेताहरूबीच विराटनगरको मेयर उम्मेदवार छान्न समेत सकस हुने देखिएको छ । विराटनगर नेता शेखर कोइराला र शशांक कोइरालाको प्रभाव क्षेत्र हो । तर, सभापति देउवाले विराटनगरमा केन्द्रीय सदस्य अमृत अर्याललाई मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

विराटनगरबाट मेयरकालागि संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अर्याल, केन्द्रीय सदस्य एवं हालका मेयर भीम पराजुली, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईको नाम सिफारिस भएर आएको छ । यीमध्ये अर्याल र संग्रौला सभापति देउवानिकट हुन् ।

सभापति देउवाले पहिल्यै अर्यालको नाम सिफारिस गरेपछि कोइरालाले विरोध गरेका थिए । स्रोतका अनुसार कोइरालाले विराटनगरको मेयरमा जिल्ला सभापति नागेश कोइरालालाई अघि सार्न चाहेका छन् ।

‘विराटनगरको पोलिटिक्स तपाईंहरुले बुझ्नु नै भएनँ, त्यहाँ अमृत अर्याललाई उम्मेदवार बनाऔँ,’ बैठकमा देउवाको प्रस्ताव थियो । तत्कालै प्रतिरोध गर्दै शेखरले विराटनगरको बारेमा देउवाले केही नजाने बताएका थिए । ‘विराटनगरको बारेमा तपाईंले के जान्नुहुन्छ ? अर्यालजीले ०५४ सालमै मेयर हारेको मान्छे हो । अब त उहाँ केन्द्रीय सदस्य हो । उहाँलाई सांसद, मन्त्री बनाउनुहोस्,’ कोइरालाले भनेका थिए, ‘विराटनगरको विषयमा निर्णय गर्दा त्यहाँबारे बुझ्नुपर्छ । यो बारेमा तपाईले कस–कसलाई सोध्नुभयो ? मिनेन्द्रलाई सोध्नुभयो कि महेश आचार्यलाई ?’

विराटनगरबारे नेता कृष्णप्रसाद सिटौलाले भने हालका मेयर पराजुलीलाई दोहोर्‍याउनु उपयुक्त हुने भनेका थिए । विराटनगरमा ०७४ को निर्वाचनमा कांग्रेसले एक्लै मेयर, उपमेयरसहित बहुमत पदाधिकारीमा जित हासिल गरेको थियो । यसपटक केन्द्रले चुनावी तालमेल गर्दा उपमेयर पद जसपालाई दिइसकेको छ ।

बैठकमा सहभागी एक नेताले सभापति देउवाले विराटनगरको विषयमा समेत हस्तक्षेप गर्न खोजेको कारण समस्या उत्पन्न भएको बताए । ‘काठमाडौं महानगर समिति, जिल्ला समिति, क्षेत्रीय समिति सबै प्रकाशमान सिंहको प्रभाव छ । त्यसैले त्यहाँ सिर्जना सिंह उम्मेदवार हुँदा तलबाट त्यसको विरोध हुँदैन,’ ती नेताले भने, ‘त्यस्तै कुरा विराटनगरमा पनि लागू हुन्छ । विराटनगरमा महानगर, क्षेत्र, जिल्ला सबै शेखरजीको होल्ड छ । त्यहाँ कसलाई उम्मेदवार बनाउने ? को उम्मेदवार बन्दा चुनाव जितिन्छ ? र सबै साथीहरूको साझा उम्मेदवार को बन्न सक्छ ? त्यो उहाँको प्रभावको आधारमा निर्णय हुनु उपयुक्त हुने होला भन्ने लागेको हो ।’

नेताहरूले विराटनगरमा सभापति देउवाले आफूपक्षीय नेतालाई जबरजस्ती टिकट दिए विद्रोह हुनसक्ने समेत भनेका छन् । बैठकमा पोखरा महानगरपालिकाको उपमेयरका विषयमा समेत नेताहरूबीच मतभेद भएको छ । गठबन्धन गर्दा पोखराको मेयर भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उपमेयरमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक व्यक्तिको नाम अघि सारेका छन् ।

सभापति देउवाले आफूनिकट हालका महानगर सभापति सुरेन्द्र बिजुक्छेको नाम प्रस्ताव गरेका छन् । पौडेलले भने महिला संघकी सभापति कोपिला रानाभाटको नाम प्रस्ताव गरेका छन् । पोखराबाट मेयरका लागि १८ जना र उपमेयरका लागि १० जनाको नाम सिफारिस भएको थियो ।

उम्मेदवारकाे नामबारे छलफल गर्न सभापति देउवाले शुक्रबारै कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर शीर्ष नेताहरुबीच सहमति नभएका कारण अहिलेसम्म बसेको छैन । मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको बताए । अहिले नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा छन् । कार्यसम्पादन समितिको बैठक भने केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

प्रकाशित : वैशाख १०, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×