पाल्पामा गठबन्धनमा भागबण्डा मिल्यो

वैशाख १०, २०७९

माधव अर्याल

पाल्पा — पाल्पामा गठबन्धनले मनोनयनको अघिल्लो दिनमात्रै कुन पालिकामा कुन पार्टीबाट उम्मेदवार हुने भन्ने भागबन्डा मिलाएको छ । दलहरुबीच कुने स्थानीय तहमा को उम्मेदवार हुने भन्ने टुंगो भने अझै लागेको छैन । 

पाल्पामा गठबन्धन गरेका पाँचमध्ये तीन दलले मात्र स्थानीय तहमा भागबन्डा गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा भागबन्डा मिलाएका हुन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले भने पालिका प्रमुख पाएनन् ।

कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दुई–दुई पालिका प्रमुखमा उम्मेदवारी टुंगो लगाएको हो । कुन पार्टीबाट को उम्मेदवार बनाउने निर्णय गर्न अझै बाँकी छ । कांग्रेसले तानसेन र रामपुर नगरपालिकामा प्रमुख तथा निस्दी, माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट साथै एकीकृत समाजवादीले पूर्वखोला  र रम्भा गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिनेछ । रामपुर नगरपालिकामा उपप्रमुख, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोट गाउँपालिकामा उपाध्यक्ष उम्मेदवार बनाउने छ । 

एकीकृत समाजवादीले बगनासकाली, माओवादी केन्द्रले तानसेन नगरपालिकामा उपप्रमुख साथै निस्दी र रैनादेवी छहरा गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवार बनाउनेछ । वडाध्यक्ष पदका लागि पनि गठबन्धनको बैठक बसिरहेको र राति अबेरसम्म टुंगो लाग्ने गठबन्धनका संयोजक कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले २०७४ सालमा ८१ मध्ये ३७ वडा जितेको थियो भने माओवादी केन्द्रले ४ वडामा जित हासिल गरेको थियो । स्थानीय अवस्था विश्लेषण गरी भागबन्डा गरिने गठबन्धनले जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully