सिन्धुली — सिन्धुलीमा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि तीन गाउँपालिका र एक नगरपालिकामा नगरप्रमुख/उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ ।
सत्ता गठबन्धन दलको भागबण्डा अनुसार दुधौली नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रले दिनेश अधिकारी दनुवारलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा समेत नगरप्रमुखमा अधिकारी एमालेका घनश्याम राउतसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै मरिण गाउँपालिकाको अध्यक्षमा विमर्श मोक्तान, हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा बज्रध्वज वाइवा र सुनकोसी गाउँपालिकाको अध्यक्षमा दीपा बोहोरा दाहाललाई उम्मेदवार भएको माओवादी केन्द्र सिन्धुली इन्चार्ज एवं वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहाल राजनले जानकारी दिए ।
इन्चार्ज दाहालका अनुसार गठबन्धनबीच भएको भागबन्डा अनुसार नेपाली कांग्रेसले नेतृत्व पाएको कमलामाई नगरपालिका सहित पाँचवटा पालिकामा उपप्रमुख तथा उपाध्यक्षको उम्मेदवारको समेत नाम टुंगो लागेको छ । कमलामाई नगरपालिकाको नगर उपप्रमुखमा दीर्घराज श्रेष्ठलाई माओवादी केन्द्रले अघि सारेको छ ।
तीनपाटन गाउँपालिकाको उपाध्यक्षमा अशोक पुलामी, फिक्कल गाउँपालिकाको उपाध्यक्षमा लोकेन्द्र कार्की, गोलन्जोर गाउँपालिकाको उपाध्यक्षमा ज्वालाप्रसाद न्यौपाने र घ्याङलेख गाउँपालिकाको उपाध्यक्षमा शंकरमान घलानलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको इन्चार्ज दाहालले जनाए । ७९ वडामा भने दुई दलबीच कुरा नमिल्दा भागबण्डा मिलेको छैन । कांग्रेस सभापति उपेन्द्र पोखरेलले नगरपालिकाको प्रदेशबाट र गाउँपालिकाको जिल्लाबाटै उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ । दुवै दलमा असन्तुष्टि बढेकाले गुटगत भेला र बैठकहरु भइरहेका छन् ।
