दाङ — स्थानीय तह निर्वाचनका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकामा उम्मेद्वार टुंग्याउन सकस परेको छ । गठबन्धन दल र एमालेले अझैसम्म आधिकारिकरुपमा उम्मेद्वार सार्वजनिक गरेका छैनन् ।
गठबन्धनका क्रममा घोराही उपमहानगरपालिका प्रमुख माओवादी केन्द्रले पाएको छ । केन्द्रका तर्फबाट केन्द्रीय सदस्य हेमराज शर्मालाई अघि सारिएको छ । एमालेबाट प्रमुखमा हालका प्रमुख नरुलाल चौधरी र उपप्रमुख सिता सिग्देल न्यौपानेको नाम जिल्ला कमिटीले सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ । प्रदेशले अझै उम्मेद्वार टुंग्याएको छैन ।
उपप्रमुख पाएको कांग्रेसले पनि उम्मेद्वार टुंग्याउन सकेको छैन । प्रमुखमा दाबी गरेका भूपबहादुर डाँगीलाई उपप्रमुखका रुपमा चर्चा गरिएको छ । डाँगी २०७४ को निर्वाचनमा एमालेका चौधरीसँग प्रमुखमा पराजित भएका थिए । २०७४ मा चौधरी २२ हजार ३० मतले विजयी भएका थिए भने डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए ।
त्यतिबेला माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । गौतमले माओवादी केन्द्र छोडेका छन् । केही दिनअघि उनले पत्रकार सम्मेलन गरी पार्टी केन्द्रीय सदस्य र जिल्ला इञ्चार्ज छोडेको घोषणा गरेका थिए । घोराहीको उपप्रमुखमा एमालेले हुमा डिसी र हिरादेवी पुनको नाम सिफारिस गरे पनि अझै टुंगो लागेको छैन ।
घोराहीमा उपप्रमुखमा कांग्रेसबाट सावित्रा राना, बालिका लम्साल, पुष्पा श्रेष्ठ, गोमा रावत, जानका केसी, टिका डाँगी, निरजा पोख्रेल र माया पोख्रेलको नाम सिफारिस गरेको छ । घोराहीमा प्रमुख नपाएको भन्दै कांग्रेस नगर समितिले असन्तुष्टि व्यक्त गरेको छ । निर्वाचन क्षेत्र नं. २ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका मात्रै रहेको र यी दुवै पालिका माओवादीले पाउने अवस्था आएपछि कांग्रेस शून्य पालिका हुने अवस्थामा पुगेको नगर सभापति तिलक रावतले बताए । बंगलाचुली २०७४ मा माओवादी केन्द्रले जितेकाले यसपटक पनि उसैले पाउने अवस्था रहेको उनले बताए । यस्तो अवस्थामा कार्यकर्तालाई सम्झाउन कठिन हुने उनले गुनाशो गरे ।
गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिका प्रमुख कांग्रेसले पाएको छ । प्रमुखका लागि विभिन्न नेताहरु दौडधुप गरिरहेका छन् । कांग्रेसबाट २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेका कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीका साथै पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नगर सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधि विमल रिजाल, नहकुल केसी लगायतको नाम सिफारिस भएको छ । टिकट पाउन सबै नेताहरु काठमाडौं धाइरहेका छन् । उनीहरुले विभिन्न नेतालाई रातदिन भेट गरिरहेका छन् ।
तुलसीपुरको प्रमुखमा एमालेबाट हालकी उपप्रमुख माया शर्मा, निवर्तमान जिल्ला अध्यक्ष टिकाराम खड्का र उपसचिव कृष्णप्रसाद भुसालको नाम सिफारिस भएको छ । गठबन्धनबाट तुलसीपुरको उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाएको छ । समाजवादीले केन्द्रीय सदस्य तथा दाङ ईञ्चार्ज जोगबहादुर रानालाई उपप्रमुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेले उपप्रमुखमा हालकी कार्यपालिका सदस्य युवा करारा सुनार र स्यानी चौधरीको नाम सिफारिस गरेको छ ।
तुलसीपुरमा २०७४ को निर्वाचनमा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ प्रमुखमा विजयी भएका थिए । कांग्रेसका उम्मेद्वार गिरीले १८ हजार ९ सय ३ र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए । एमालेले घोराही र तुलसीपुरका वडा अध्यक्षका उम्मेद्वारको नाम टुंग्याइसकेको जिल्ला सचिव मनोहर बुढाथोकीले बताए । अधिकांश वडा अध्यक्षका उम्मेद्वार पुरानै अध्यक्ष वा प्रतिस्पर्धीहरु नै छन् । गठबन्धनबाट भने अझै उम्मेद्वारहरु टुंगिन नसकेको कांग्रेस जिल्ला सभापति शंकर डाँगीले बताए । गठबन्धनबीच छलफल जारी रहेको उनले बताए ।
