भारतबाट फर्किनेमा छैन चुनावी उत्साह

‘बाउबाजेका पालादेखि भारतमै मजदुरी गरिरहेका छौं, हाम्रा छोरानातिले पनि यही नियति भोग्नुपर्ने जस्तो छ’

वैशाख १०, २०७९

भवानी भट्ट

कञ्चनपुर — पिठ्युँमा ठूलो झिटीगुन्टा बोकेर शुक्रबार बिहानै कञ्चनपुरको गड्डाचौकी नाकामा पुगेका दैलेखको चावी नगरपालिका–२ सिरहका हर्क विक घर पुग्ने हतारोमा थिए । मंसिरमा काम खोज्दै भारत उत्तराखण्डको अल्मोडा पुगेका उनी गहुँबाली भित्र्याउन स्थानीय चुनावको मतदानकै लागि घर फर्किएका छन् ।

‘भोट हाले, नहाले पनि केही फरक त छैन तर पनि दान गर्नु राम्रो हुन्छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि चुनावमा भोट छुटाएको छैन ।’ 

६५ वर्षीय विक अल्मोडामा सडक निर्माणको काम गरेर फर्किएका हुन् । दैनिक ज्यालादारीमा उनी सडकको पर्खाल बनाउन मिस्त्री काम गर्थे । ‘गाउँमा चुनाव पनि आयो, घरमा गहुँ भित्र्याउने पनि चटारो छ,’ उनले भने, ‘अल्मोडामा पनि नेपालीहरू चुनावकै कुरा गरिरहेका छन्, धेरै जना घर फर्किन्छन् होला ।’ अघिल्लो निर्वाचनका बेला मतदान गर्दा उनमा केही उत्साह थियो । गाउँमै रोजगारी पाउने र काम खोज्दै भारत पस्नुपर्ने बाध्यता अन्त्य हुने उनले आशा गरेका थिए । तर आफूले मतदान गरेर चुनेका जनप्रतिनिधिहरूले ५ वर्ष बिताउँदा पनि रोजगारीको कुनै कार्यक्रम नल्याउँदा उनी निराश छन् । त्यही भएर मतदानमा उनको खासै उत्साह देखिएको छैन । 

विकमा मात्रै होइन मतदानप्रति अरूहरूमा पनि उत्साह छैन । भारतबाट घर फर्किने अधिकांश मतदानमा भाग लिन तयार भए पनि विगतको जस्तो उत्साह भने कसैमा पनि देखिँदैन । मौकाले घर आएका बेला मतदान गरे पनि नेताहरूप्रतिको आशा र भरोसा टुटेको उनीहरू बताउँछन् । ‘हामीले त जानुपर्ने उतै (भारत) हो, भोट हालेपछि यिनीहरू त खालान्,’ दैलेखकै उसमान मियाँले भने, ‘आफ्ना कार्यकर्ता र घरपरिवारलाई नौकरी चाकरीमा राख्लान् ।’ 

मियाँ पनि अल्मोडाबाटै घर फर्किन लागेका छन् । उनी माघमा भारत पसेका थिए । उनी पनि विकझैं सडक निर्माणको काम गर्थे । गाउँमा खेतीपातीको काम आएकाले घर फर्किएको भन्दै उनले मतदानपछि फर्किने बताए । ‘गहुँ काट्ने र मकै छर्ने काम आयो,’ उनले भने, ‘घरमा काम गर्ने कोही छैन, कामदार पनि पाइँदैनन् ।’ 

अल्मोडामा ठूलो संख्यामा नेपाली काम गरिरहेका छन् । दैलेख, कालीकोट, मुगुलगायत जिल्लाका पनि धेरै छन् । वैशाख ३० को स्थानीय तहको निर्वाचनबारे अल्मोडामा पनि नेपालीबीच चर्चा भइरहने मियाँ बताउँछन् । ‘कतिपयले दुई/चार हजार खर्चेर भोट हाल्नकै लागि गएर के हुने हो र भन्छन् ?’ उनले सुनाए, ‘हामीले गाउँमा ज्याला मजदुरी गरेर खान नपाउने भएपछि किन जाने भन्ने धेरैको बुझाइ छ ।’ 

बाँके कोहलपुरका मदन परियारले भने यो भोट हाल्न जानुपर्ने सुनाउँछन् । ‘भोट हाल्नु पनि नसाजस्तै हुँदो रहेछ,’ परियारले भने, ‘गाउँमा चुनावको रौनक छ, टिहरी गढवालमा पनि नेपालकै चुनावको विषयमा चर्चा हुन्छ ।’ उनलाई पनि निर्वाचनमा परिवर्तन हुने आशा छैन ।

बहुदल आएपछि हरेक निर्वाचनमा मतदान गरेका उनलाई विकास र रोजगारीका विषयमा केही आशा पलाएको थियो । संघीयतापछि त झनै गाउँमा धेरै परिवर्तन आउने उनी आसमा थिए । तर उनले सोचेजस्तो नत बहुदलपछि परिवर्तन आयो न संघीयता पछि नै । ‘बाउबाजेका पालादेखि हामीले भारतमै मजदुरी गरिरहेका छौं,’ परियारले भने, ‘हाम्रा छोरानातिले पनि यही नियति भोग्नुपर्ने जस्तो छ ।’ निर्वाचनका बेला दलहरूले दिने चुनावी नारा र प्रतिबद्धता कागजमै सीमित हुने गरेको उनी बताउँछन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारहरूले गाउँगाउँमा रोजगारीलगायत प्रतिबद्धताहरू गरेका थिए । तर पाँच वर्षमा वास्तविक बेरोजगार एउटा मजदुरले पनि नपाएको उनको ठम्याइ छ । 

४८ घण्टाअघि नाका बन्द 

कञ्चनपुर– स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा नेपाल–भारत सीमानाका ४८ घण्टाअघिदेखि बन्द गर्ने र आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखबीच सहमति भएको छ । शुक्रबार महेन्द्रनगरमा बसेको दुवैतर्फका सुरक्षा निकायका प्रमुखहरूको बैठकले उक्त सहमति गरेको हो । ‘स्थानीय तहको निर्वाचनको तयारी स्वरूप सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘निर्वाचनका बेला सीमा क्षेत्रमा आवश्यक सुरक्षासँगै नाका बन्द गर्ने विषयमा छलफल र सहमति भएको छ ।’ 

नाका बन्द भएका बेला बिरामी तथा अत्यावश्यक कामका लागि आउजाउ गर्नेलाई भने रोकटोक गरिने छैन । पूर्णागिरि मेलाको अवधि भएका कारण यस विषयमा पनि सहजीकरण गरिने प्रजिअ पाण्डेयले बताए । उनका अनुसार सीमानाकामा आवागमनमा हुने समस्यादेखि मानव बेचबिखन तथा ओसारपसार, तस्करी र वन्यजन्तुका आखेटोपहार ओसारपसारलगायतको नियन्त्रणका लागि समन्वय तथा सूचना आदानप्रदानका विषयमा छलफल भएको छ । कञ्चनपुरसँगै भारततर्फ उत्तरप्रदेशको पिलिभित तथा उत्तराखण्डका उधमसिंहनगर र चम्पावत जिल्लाका सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी थिए । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरीका डीआईजी दुर्गा भण्डारी तथा भारत उत्तराखण्डको कुमाउ रेन्जका डीआईजी निलेश आनन्द भरणे बैठकमा सहभागी थिए ।

स्थानीय तह निर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully