मोरङमा सत्तारुढ दलबीच चुनावी तालमेल प्रयास विफल

महानगरको गठबन्धन सहमति पनि संकटमा

वैशाख ९, २०७९

विनोद भण्डारी

विराटनगर — सबै दलहरुको आ–आफ्ना अडान र शर्त नछोड्दा सत्तारुढ दलहरुबीच आसन्न स्थानीय निर्वाचनमा हुने भनिएको चुनावी तालमेल मोरङमा टुटेको छ । यससँगै केन्द्र स्तरबाट भएको महानगरको तालमेल सहमति पनि संकटमा परेको छ ।

महानगरमा कांग्रेस बाहेकको तीन दलीय गठबन्धनले मेयर र उपमेयरसहित जिल्लाका सबै स्थानीय तहमा चुनावी गठबन्धन गर्ने तयारी गरेका छन् । यसो हुनुमा कांग्रेसले बाँकी गठबन्धनका दलहरुले आफ्नो सांगठानिक हैसियतभन्दा बढी भाग खोज्दाको परिणाम भनेको छ भने अरु दलहरुले कांग्रेसको दम्भका कारण चुनावी तालमेल सम्भव नभएको आरोप लगाएका छन् ।

एक सातादेखि शुक्रबार बिहानसम्म सत्तारुढ चार दलीय बैठकले तालमेलको सहमति गर्न नसकेपिछ शुक्रबार साँझ फेरि बैठक बस्ने सहमति भएको थियो । कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले भने, 'साँझ ६ बजे निर्णायक बैठक बस्ने भनिएको थियो तर कुनै पनि दलका प्रतिनिधि बैठकमा नआएपछि बैठक बस्न सकेन । हामी कुरेर बस्यौं तर उनीहरु कोही पनि बैठकमा नआएपछि तालमेलको सम्भावना तुहिएको स्पष्ट भयो ।'

कांग्रेस तालमेलबाट पछि हटेपछि तालमेल सम्भव नभएको माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले बताए । कांग्रेससँगको तालमेल सम्भव नभएपछि बाँकी रहेका दलहरुबीच तालमेल गर्ने वा एक्ला एक्लै चुनावमा होमिने भन्ने विषयमा छलफल भइरहेको उप्रेतीको भनाइ छ । उनले स्थानीय स्तरमा कांग्रेससँग तालमेल नभएपछि केन्द्र स्तरबाट भएको महानगरको तालमेल विरुद्ध पनि बाँकी गठबन्धन दलले सोच्नुपर्ने अवस्था आएको बताए ।

केन्द्रको सहमति अनुसार महानगरमा मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । तर जिल्ला तहमा कांग्रेससँग तालमेल नभएपछि बाँकी तीन दलले महानगरमा नयाँ तालमेल गर्ने तयारी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार जसपालाई मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तीन दलले महानगरमा बेग्लै तालमेल गर्ने पहल सुरु भएको छ ।

मोरङमा तालमेलका लागि बुधबारदेखि शुक्रबारसम्म दिनभर पार्टीको जिल्ला कार्यालय र प्रदेश कार्यालयमा सबै दलका प्रतिनिधिसँग पटक पटक छलफल भयो । भित्र छलफल भइरहँदा बाहिर कांग्रेस कार्यकर्ताकाले तीव्र नाराबाजी गरिरहेका थिए । मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बुले कार्यकर्ताको तीव्र विरोध सहेर तालमेल गर्ने प्रयास गर्दा पनि बाँकी दलले ठूलो भाग खोज्दा तालमेल असम्भव भएको बताए ।

केन्द्रले दिएको म्याण्डेट अनुसार तालमेल सम्भव नभएको नेताहरूले बताएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले रंगेली नगरपालिका र जसपाले जहँदा गाउँपालिकामा जितेको थियो ।

कांग्रेसले महानगरपालिकासहित सुन्दर हरैँचा, लेटाङ, उर्लावारी, रतुवामाई, सुनवर्षी नगरपालिकासहित केरावारी, धनपालथान, कटहरी र बुढीगंगा गाउँपालिका जितेको थियो । त्यसैगरी एमालेले बेलबारी र पथरी शनिश्चरे नगरपालिकासहित कानेपोखरी, मिक्लाजुङ र ग्रामथान गाउँपालिका जितेको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले मिक्लाजुङ, उर्लावारी, बेलबारी, कानेपोखरी, रंगेली र ग्रामथानको नेतृत्व आफूले पाउनु पर्ने र जसपाले आफूले जितेको जहँदा सहित कांग्रेसले जितेको सुनवर्षी नगरपालिका र धनपालथान पाउनु पर्ने अडान नछाडेपछि मोरङमा तालमेलको अध्याय करिब सकिएको लिम्बुको भनाइ छ ।

लिम्बुका अनुसार तालमेल भइहाले पनि मोरङ कांग्रेसमा विद्रोह हुने अवस्था उत्पन्न भएको छ । मोरङमा संस्थापन इतर समूह तालमेलको विपक्षमा र संस्थापन पक्ष तालमेलको पक्षमा छ ।

स्थानीय तह निर्वाचन २०७९

विनोद

Link copied successfully