बझाङ — बुधबार मात्रै स्थानीय तह निर्वाचनको लागि गठबन्धनको भागबण्डा मिलाएका सत्ताधारी दलहरुबीच यही विषयलाई लिएर असन्तुष्टि चर्किन थालेको छ ।
भागबण्डालाई लिएर असन्तुष्टहरुले गठबन्धनको निर्णय नमान्ने भन्दै विरोध जनाउन थालेका छन् । भागबण्डामा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका कार्यकर्ताहरु सबैभन्दा बढी असन्तुष्ट देखिएका छन् ।
पालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेसको तलकोट र थलारा गाउँसमितिले आधिकारिक रुपमा विरोध जनाएका छन् । यी पालिकाहरुको गाउँ कार्यसमितिको निर्णय सार्वजनिक गर्दै निर्णय नसच्याइए प्रमुख पदमा उम्मेदवारी दिने निर्णय नै गरिएको छ ।
‘हामीसँग २६/२७ सय मत छ । १ सय ५० मत पनि नभएको पार्टीलाई प्रमुखको उम्मेदवार दिएर भागबण्डा गर्नु कतिसम्म जायज हो ?’ नेपाली कांग्रेस तलकोट गाउँ पालिका कार्यसमितिका सभापति लोकेन्द्र बहादुर सिंहले भने ‘यस्तो हावादारी निर्णय हामीलाई मान्य छैन । यो कुरा नसच्याए हामी सबै पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिसकेका छौं ।’
उनले अध्यक्ष पद पाएको समाजवादीले उक्त पदमा उठ्नको लागि उम्मेदवार पनि नपाएको जिकिर गरे । २०७४ सालको निर्वाचनमा यो पालिकामा नेपाली कांग्रेस ६४ मत अन्तरले एमालेका उम्मेदवारसँग पराजित भएको थियो । कांग्रेसका अध्यक्ष पराजित भएका पालिकाहरुमा यो जिल्लामै सबैभन्दा कम मतको अन्तर थियो ।
यस्तै थलारा गाउँपालिका कार्यसमितिका सभापति दिलबहादुर सिंहले पनि गठबन्धनको निर्णय नमान्ने बताउँदै एकल उम्मेदवारी दिनका लागि उम्मेदवार छनोटको काम सुरु गरिसकेको बताए । ‘हामीले कार्यकर्ता र मतदातालाई कन्भिन्स गर्नै नसक्ने गरी गठबन्धनले निर्णय गर्यो । कार्यकर्ताहरु हामीमाथि खनिन थाले’ उनले भने ‘अब हामीहरु उम्मेदवार छनोट गर्ने तयारीमा लागिसकेका छौं ।’
उनले अध्यक्ष पद नेपाली कांग्रेसलाई दिने गरी कुनै दलले तालमेल गर्न चाहेमा आफूहरु सकारात्मक रहेको बताए । केन्द्रीय समितिमा पनि यस विषयमा जानकारी गराएको तर जनमत हेरेर स्थानीय तहले नै निर्णय गर्नुहोस् भन्ने जवाफ पाएको उनको भनाइ छ ।
‘स्थानीय स्तरमा एकमतले निर्णय हुन्छ भने एकल उम्मेदवारी दिनुहोस् भनेर केन्द्रले भनिसकेको छ तर जिल्लामा रुख चिन्ह दिन्नौं भनेर अडान लिँदैछन् । रुख चिन्ह नपाए पनि हामी स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छौं’ उनले भने ।
थलारा र तलकोटमा मात्रै नभएर दुर्गाथली, छविसपाथीभेरा, केदारस्यूँ गाउँपालिका र बुङगल नगरपालिकामा पनि कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरिरहेको नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले बताए ।
यद्यपी जिल्लाको निर्णय मान्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘त्यहाँ मात्रै होइन धेरै ठाउँमा यस्तो कुरा आएको छ । हामी मिलाउने कोसिसमा छौं’ उनले भने ‘देशै भर गठबन्धन तोडियो भने बेग्लै कुरा नभए यो निर्णय नमानेर सुख छैन ।’ उनले असन्तुष्टहरुलाई मिलाएरै चुनावमा जाने बताएका छन् ।
